सरकारले भूकम्पका कारण घरबार गुमाएकाहरुलाई एक हप्ताभित्र अनुदान दिइसक्ने जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट घर भत्किएकाहरुलाई दिने भनिएको अनुदान रकम यही साताभित्र पीडितको बैंक खातामा जम्मा भइसक्ने छ ।
अनुदान रकम उपलब्ध गराउने प्रक्रियामा आनाकानी गर्दै आएका बैंक र वित्तीय संस्थाहरुलाई सरकारले सेवा शुल्क दिने जनाएपछि यो प्रक्रिया अघि बढ्न लागेको हो । अनुदान सम्झौता भइसकेका करिब ४० हजार परिवार रकम पाउने प्रतिक्षामा छन् भने बाँकी करिब साढे पाँच लाख पीडित परिवार सम्झौताको प्रक्रियामा छन् ।
भूकम्प पीडितहरुको पहिचान गरेर उनीहरुको नाम सार्वजनिक गरेसँगै पुनर्निर्माण प्राधिकरणले पीडितहरुसँग अनुदान सम्झौताको काम सुरु गरेको थियो । तर अनुदान रकम उपलब्ध गराउने बैंक र वित्तीय संस्थासंग समझदारी नभएकाले प्राधिकरणले उपलब्ध गराउने भनेको दुई लाख रुपैँयामध्ये पहिलो किस्तासमेत पीडितहरुले अहिलेसम्म पाउन सकेका छैनन् । रकम उपलब्ध गराइदिन लामो समयदेखि आनाकानी गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठन र प्राधिकरणबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।