सरकारले मोबाइलमा दिँदै आएको ५० प्रतिशत भ्याट फिर्तालाई घटाएर ४० प्रतिशतमा झारेको छ । मोबाइल जस्तै बिक्रेताले घ्यू र तेलमा पनि ५० प्रतिशत भ्याट फिर्ता पाउँदै आएकोमा त्यो पनि घटेर ४० प्रतिशतमा झरेको छ ।
सरकारले विद्युतीय साना निजी सवारीसाधनमा यसअघि ४० प्रतिशत रहेको भन्सार दरलाई घटाएर १० प्रतिशतमा झारेको छ । त्यसैगरी सार्वजनिक यातायातका लागि आयात गरिने ठूला विद्युतीय सवारी साधनमा भने १५ प्रतिशतको भन्सार करलाई घटाएर एक प्रतिशतमा झारिएको छ ।
व्यवसायी तथा उद्यमीलाई कर छुटको उपहार
त्यसैगरी सरकारले कृषिजन्य औजारमा लाग्ने कर घटाएको छ । दुग्ध उत्पादन ओसारपसार गर्ने ट्यांकरको भन्सार दर घटाएको छ । स्वास्थयसम्बन्धी उपकरणमा लाग्ने भन्सार कर पनि सरकारले घटाएको छ । त्यसैगरी उत्पादन मूलक उद्योगका लागि आयात हुने उपकरणमा १५ प्रतिशत लाग्दै आएको भन्सार कर एक प्रतिशतमा झारेको छ ।
प्लाष्टिक प्रतिस्थापन गर्ने उद्योगमा पनि सरकारले कर छुट दिएको छ । सञ्चारगृहले आयात गर्ने अखबारी कागजमा एक प्रतिशत मात्र भन्सार लाग्ने गरी छुट दिइएको छ । सरकारले साना व्यवसायीलाई पनि कर छुटको उपहार दिएको छ । यसअघि साना व्यवसायीले कारोबार करको डेढ प्रतिशत राजस्व बुझाउँदै आएकोमा सोलाई घटाएर ०.७५ प्रतिशत पुर्याइएको छ ।
चुरोट र मदिरामा अन्तःशुल्क थप
नेगेटिभ लिस्टमा रहेको चुरोटमा सरकारले साविकभन्दा ११ प्रतिशत अन्तशुल्क थप गरेको छ । चुरोटसँगै विंडी, सुर्ती र सिगारमा पनि सरकारले बजेटबाट अन्त शुल्क बढाएको छ । फिल्टर नभएको चुरोट प्रति एम अन्तशुल्क ३ सय ४६ रुपैयाँ पुर्याइएको छ भने ८५ मिमिभन्दा बढी लम्बाइको फिल्टर भएको चुरोटमा प्रतिएम १ हजार ८ सय ६८ रुपैयाँ अन्तशुल्क लगाइएको छ । सरकारले बियर तथा मदिरामा लाग्ने अन्तशुल्क समेत बढाएको छ । स्वेदशी मदिरा तथा वियरमा लाग्ने अन्तशुल्क साविक करमा १५ प्रतिशत बढाइएको छ भने विदेशबाट आयात हुने मदिरा तथा वियरमा अन्तशुल्क साविकमाभन्दा २० प्रतिशत बढाइएको छ ।