सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९८ करोडको बजेट विनियोजन गरेको छ । घोषित बजेटको ५० प्रतिशत रकमको श्रोत राजस्व उठाएर जुटाउने सरकारले घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएर जुटाउने लक्ष्य लिएको हो । चालु आर्थिक वर्षमा सरकारले राजस्वको लक्ष्य ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ निर्धारण गरेको थियो ।
सरकारले १ खर्ब ६६ अर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैयाँ बैदेशिक अनुदानबाट जुटाउने जनाएको छ । चालु आर्थिक वर्षमा १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने लक्ष्य चालु आर्थिक वर्षमा राखिएको थियो । बैदेशिक ऋणमार्फत झण्डै दुई खर्ब रकम जुटाइने सरकारको घोषणा छ । उसले १ खर्ब ९५ करोड रुपैयाँ बजेटको श्रोत विदेशी ऋणमार्फत जुटाउने जनाएको हो । चालु आर्थिक बर्षमा बैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ हजार रुपैयाँ श्रोत जुटाउने लक्ष्य थियो । सरकारले आन्तरिक ऋणमार्फत आगामी बजेटका लागि १ खर्ब ११ अर्ब रुपैयाँ स्रोत जुटाउने बताएको छ । त्यसैगरी, अहिले सरकारको खातामा रहेको रकमबाट घोषणा गरिएको बजेटमा ५९ अर्ब ४१ करोड २७ लाख रुपैयाँ स्रोतको रुपमा राखिएको छ । अर्थमन्त्रि विष्णु पौडेलका अनुसार सावाँ फिर्ताबाट १० अर्ब रुपैयाँ स्रोत जुटाइने छ जबकी चालु आवको बजेटमा सावाँ फिर्ता वा प्राप्तिमार्फत २ अर्ब जुटाउने लक्ष्य राखिएको थियो ।