बैंकिङ खबर । बैंकहरुले निश्कासन गरेको ऋणपत्र बिक्नै छाडेको छ।
हाल ऋणपत्र निश्कासन गरिरहेका सानिमा तथा सिद्धार्थ बैंकलाई सबै ऋणपत्र बेच्न मुस्किल परेको छ। सानिमा बैंकले १० वर्षे अवधिको तथा सिद्धार्थले सात वर्षे अवधिको ऋणपत्र निश्कासन गरेका छन्।
सानिमाको वार्षिक १० प्रतिशत तथा सिद्धार्थको साढे १० प्रतिशत व्याजदरको ऋणपत्रमा आवेदन नै कम परेको छ। ऋणपत्र निश्कासन भएकै बेला व्यक्तिगत मुद्दतीमा केही बैंकले १३ प्रतिशतसम्मको व्याजदर दिएपछि ऋणपत्र बिकाउन बैंकहरुलाई मुस्किल परेको हो।
राष्ट्र बैंकले ऋणपत्रमा साढे १० प्रतिशतभन्दा बढी नदिन बैंकहरुलाई दवाव दिने गरेको छ। सोही व्याजदरमा कायम रहने हो भने बैंकहरुलाई अबका दिनमा समेत ऋणपत्र बिकाउन मुस्किल पर्नेछ।
ऋणपत्रमा आउन सक्ने रकम नै १२\१३ प्रतिशत व्याजदरको मुद्दती खातामा गएको छ। व्याजदरमा हाल सहमति हुनुपहिले नै संस्थागत निक्षेपकर्ताले समेत १० प्रतिशतकै व्याजदर पाइरहेका थिए। जसले गर्दा ऋणपत्रमा संस्थागत आवेदन समेत कम पर्न गएको हो।
सानिमा बैंकले कुल २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न लागेको हो। जसमा ३८ करोड रुपैयाँको सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो। सो ऋणपत्र पुरा बिक्री नभएपछि १५ दिनको अवधि थपिएको थियो। जसमा एक दिन बाँकी रहँदा साढे १३ करोड रुपैयाँको मात्रै बिक्री भएको छ। थपिएको अवधिअनुसार सोमबार अन्तिम दिन हो।
यता सिद्धार्थ बैंकको अवस्था उस्तै छ। १ हजारको दरमा २ अर्ब २५ करोडको ऋणपत्र बिक्री गर्ने लक्ष्य बैंकले लिएको छ। जसमा ४५ करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ। सिद्धार्थको पुस २३ गतेसम्म आवेदन खुल्ला रहनेछ।
त्यस्तै सनराइज बैंकले वार्षिक १० प्रतिशत व्याज दिनेगरी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने तयारी गरेको छ।
ग्लोबल आइएमई बैंकले साढे १० प्रतिशत व्याजदरमा साढे १ अर्ब रुपैयाँको ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ हुन्छ।