बैंकिङ खबर । गण्डकी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.२० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २६ गते साधरण सभा गर्ने बैंकले बुधबारदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकले चुक्ता पूँजी २ अर्ब ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
बैंकले लाभांश वितरणकोे साथै मर्जर एक्विजिशनलाई मुख्य एजेण्डा बनाएको छ । त्यसैगरि बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश सहित मर्जर तथा एक्विजिसनको विशेष प्रस्ताव अघि सारेर एघारौँ वार्षिक साधारण सभाको आह्वान गरेको हो ।
पुस २६ गते बिहीबार बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरामा आह्वान गरिएको साधारण सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अघि सारेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।