बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । पौष ४ गतेका सम्पन्न २१ औं वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर र नगद प्रयोजनका लागि समेत गरी ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआईसी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको छ ।
उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी आठ अर्ब चार करोड लाई वृद्धि गरि आठ अर्ब चौरासी करोड बनाउन, साविक तत्काल चुक्ता पूँजी आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे लाई वृद्धि गरी आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे बनाउन स्वीकृत प्रदान गरेको छ ।
हाल बैंकको २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।