May 28th, 2016

सरकारी कर्मचारीको तलब ५ सय !

money 1सरकारी कर्मचारीले पाउने मासिक तलब ५ सय रुपैँया मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक  ५०० रुपैंया तलब थाप्दै आएका छन् ।

हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत ५०० रुपैंया पाउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक ८ हजार रुपैंया नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थियो । केसीले सबैभन्दा कम तलबमा काम गर्ने गरी निवेदन दिएपछि उनलाई ५ सयमा काम गर्ने गरी कार्यालय सहयोगीमा नियुक्त गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत हजारी चन्दले कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा कम तलब कबोल गर्ने केसीलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको बताए । कार्यालय सहयोगीका लागि केन्द्रमा ८ जनाको आवेदन परेको थियो । उनीहरुमध्ये एक जनाले निःशुल्क काम गर्ने प्रस्ताव पेस गरेका थिए । जनस्वास्थ्य कार्यालयले त्यसलाई अस्वीकृत गरेको छ ।

न्यूनतम तलबमा काम गर्न कबोल गर्ने केसीले भविश्यमा तलब बढ्ने र स्थायित्व हुने आशामा कम तलबमा काम गर्ने इच्छा देखाएको बताइएको छ । रासस