May 29th, 2016

आयो खानी खोलाको साधारण शेयर, यसरी दिनुस् आवेदन

khanikholaखानी खोला हाइड्रोपावर कम्पनीले आइतबारदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

कम्पनीले ९ करोड ३१ लाख ४२ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गर्न लागेको शेयरमध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कम्पनीको शेयरमा न्युनतम दश देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण सेयर निष्काशन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ । इच्छुक लगानीकर्ताले सिभिल क्यापिटल मार्केट कमलादी काठमाडौ तथा खानी खोला हाइड्रो पावर कम्पनी धुमबराही, सिभल बैंकका शाखा कार्यलय पोखरा, बुटवल,विर्तामोड, नेपालगन्ज, हेटौडा, इटहरी , धनगढी र वागमति डेभलपमेन्ट सर्लाहीबाट आवेदन दिन सकिनेछ ।

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ ।