बजेटमा भाषण अघि चार वटा किताव तयार गर्नुपर्छ । बजेट भाषणको किताव नेपालीमा तयार हुन्छ भने त्यसको अंग्रेजी संस्करण पनि तयार गरिन्छ । झण्डै सय पेजभन्दा ठूलो हुने यो किताबसँगै बजेटका लागि स्रोत पहिचान गरिएको सेतो किताव पनि तयार गरिन्छ । त्यसैगरी बजेट कहाँ कहाँ खर्च गर्ने विवरण भएको रातो किताव पनि बजेट भाषण अघि नै तयार भैसक्नुपर्छ भने बजेटसँगै करका दरहरु लागू हुने आर्थिक विधेयक पनि तयार गरिन्छ । यी चारवटै किताव बजेट भाषण अघि हजारदेखि १५ सय प्रति छापिन्छ । बजेट भाषण सुरु भएपछि हरेक सांसदको हातमा पुग्ने गरी चारवटै किताव राखिन्छ । सांसद लगायत सबैले बजेट भाषण सकिएपछि मात्रै यी चार वटा किताव हात पार्छन् । अर्थमन्त्रीको बजेट भाषण लगत्तै यी चारवटै कितावको पिडिएफ भर्सनबाट अर्थमन्त्रालयले इकपी उपलब्ध गराउने तयारी छ ।
आज साँझ ४ बजे संसदमा प्रस्तुत हुने बजेट भाषण छाप्नका लागि अर्थ मन्त्रालयले बिहान ९ बजे मुद्रण विभागमा पठाएको छ । कार्यक्रमका लागि छुट्टयाइएको बजेट, बजेटको स्रोत तथा करका दरका विषयमा शुक्रबार रातभर मन्त्रालयमा छलफल भएको थियो । छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थसचिव लोकदर्शन रेग्मी, राजस्व सचिव राजन खनाल, बजेट महाशाखा प्रमुख रामशरण पुडासैनी, राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्याल, वैदेशिक महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी थिए । त्यसैगरी अर्थ मन्त्रीका सल्लाहाकार गोविन्द नेपाल पनि बैठकमा थिए । अर्थको टीमलाई आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, भन्सार विभाग प्रमुख शिशिर ढुङ्गाना, राजस्व अनुसन्धान विभाग प्रमुख निर्मलहरि अधिकारीले सहयोग गरेका थिए । तीनवटा विभागका केही वरिष्ठ अधिकारीहरु पनि मन्त्रालयमा भेला भएका थिए ।