May 28th, 2016

हेर्नुस्, चालू आर्थिक वर्षभित्रै आउँदैछ कुनकुन कम्पनिको शेयर ?

economicचालू आर्थिक वर्षभित्रमा नै शेयर जारी गर्नका लागि विभिन्न वाणिज्य बैँक, विकास बैँक, लघुवित्त, जलविद्युत् कम्पनिहरु तथा विमा कम्पनिहरु तयारी अवस्थामा रहेका छन् । बैँक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैँकको नीतिअनुरुप पुँजीवृद्धिको होडमा रहेका छन् । हकप्रद निष्काशनबाट पुँजी वृद्धि गर्न लागेका संस्थाचहरुलाई सघाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले पनि अधिकतम १२ कार्यदिन भित्र हकप्रद निष्काशनको अनुमति दिने घोषणा गरेको छ । यस अघि क्रेडिट रेटिङको व्यवस्था हटाएर हकप्रद निष्काशनलाई सहज बनाएको बोर्डले यस पटक आफ्नै प्रक्रिया छोटो तथा सजिलो बनाउने निर्णय गरेको हो । 
 बोर्डले हकप्रद निष्काशनको अनुमतिका लागि निवेदन प्राप्त भएको सात दिनभित्र अध्ययन सकेर आवश्यकता अनुसार सुधार वा संशोधनका लागि सुझाव दिने छ भने आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको पाँच कार्यदिनभित्र हकप्रद निष्काशनको स्वीकृति दिने छ । हेरौँ, चालू आर्थिक वर्षभित्र कुनकुन कम्पनिले गर्दैछन्

शेयर निष्काशन –

जनता बैँकको ५० प्रतिशत हकप्रद शेयर
जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेकोमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । बैंकले यही जेठ ३० गते गर्ने साधारणसभा गर्ने जनाएको छ । सभामा अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव लैजाने बैंकको योजना छ । त्यसैगरी, बैंकको सञ्चालक समितिले १९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयर बनाउन प्रस्ताव गरेको छ । हाल बैंकमा प्रवर्द्धक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशत छ । प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत भएपनि प्रवर्द्धक सेयर ५१ र साधारण सेयर ४९ प्रतिशत रहने छ ।

सेञ्चुरी कमर्सियलको ३० प्रतिशत हकप्रद शेयर
सेञ्चुरी कमर्सियल बैंकले असार मसान्तभित्र ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले जनाएको छ । बैँकले शेयरको निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । 

नेपाल बैँकको हकप्रद शेयर
नेपाल बैंकले हकप्रद शेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । बैँकले सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकसँग अहिले ६ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएकोमा हकप्रदबाट १ अर्ब ५७ करोड रुपैयाँ पुँजी जुटाउने जनाएको छ । साथै, बैँकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थप्नका लागि सञ्चालक समितिमा अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत साधरण सभामा ल्याएको छ । 

सगरमाथा फाइनान्सको ८० प्रतिशत हकप्रद
सगरमाथा फाइनान्सले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । असार ३ गते बस्ने दशौं वार्षिक साधारण सभामा कम्पनिले आह्वान गरेको छ । ३१ करोड ८७ लाख ७३ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले १५.८५ प्रतिशत बोनस बितरण पश्चात हुने पूँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैंयाबाट प्रति १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६६ करोड ४७ लाख ३७ हजार रुपैंया नाघ्ने छ । 

हामा मर्चेन्ट एण्ड फाइनान्स
हामा मर्चेण्ट एण्ड फाइनान्सले शत प्रतिशत हकप्रद निष्काशन गर्दैछ । २२ करोड १० लाख रुपैंया चुक्ता पूँजी भएको फाइनान्सले एक बराबर एक कित्ताका दरले शेयर निष्काशन गरि चुक्ता पूँजी ४४ करोड २० लाख रुपैंया पुर्याउन लागेको हो । 

खानीखोलाको ९ लाख कित्ता भन्दा बढी साधारण शेयर
खानी खोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ९ लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले कुल निस्सकासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

सीईडीबी हाइड्रो फण्डको साढे १७ लाख कित्ता भन्दा बढी साधारण शेयर
सिईडीबी हाइड्रो फण्ड लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले १ सय रुपैँया अंकित १७ करोड ६१ लाख बराबरका १७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । एक अर्ब रुपैँया अधिकृत पुँजी भएको कम्पनिको शेयर निष्काशन तथा विक्त प्रबन्धक एनसीएम मर्चेन्ट बैँकिङ लिमिटेड रहेको छ । नेपालमा जलविद्युत् आयोजनाको प्रवद्र्धन तथा विकासका लागि क्लिन इनर्जी डेभलपमेन्ट बैँकले सन् २००९ नोभेम्बरमा सिईडीबी हाइड्रो फण्ड लिमिटेडको स्थापना गरेको हो ।

रिडी हाइड्रोको साढे ११ लाख कित्ता भन्दा बढी हकप्रद शेयर
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले ११ लाख ५५ हजार कित्ता हकप्रद शेयर निष्काशनको तयारी थालेको हो । कम्पनीले ९.९ मेगावाटको इवाखोला जलविद्युतमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो आयोजना जुलाई २०१८ बाट व्यावसायिक रूपमा सञ्चालनमा आउनेछ । तर, हकप्रदबाट करीब ११ करोड उठ्ने देखिएको यो १ अर्ब ६० करोड रुपैयाँको आयोजनाका लागि बाँकी रकम जुट्न बाँकी छ । ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत शेयर लगानीबाट बन्ने यस आयोजनाको शेयर लगानीमध्ये पनि ४२ करोड रकम जुट्न बाँकी रहने देखिन्छ । यसका लागि संस्थापकले थप रकम हाल्ने, रैराङ आयोजना वा इवाखोलाकै लागि भविष्यमा पुनः आईपीओ जारी गर्नेलगायत विकल्प कम्पनीले सोचेको छ । 
 
आरएसडीसी लघुवित्तको ४ लाख कित्ता साधारण शेयर
आरएसडीसी लघुवित्तले १ सय रुपैँया अंकित मूल्य कायम रहेको ४ करोड रुपैँया बरबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्काशन प्रबद्र्धकको रुपमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी ६ करोड रुपैँया रहेको बैँकको साधारण शेयरको विक्रि पश्चात् चुक्ता पुँजी १० करोड रुपैँया पुग्नेछ । 

ग्रीन डेभलपमेन्ट बैँकको १० लाख कित्ता साधारण शेयर 
क्षेत्रीयस्तरको ३ जिल्ले विकास बैँकको रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको ग्रिन डेभलपमेन्ट बैँकले १० करोड रुपैँया बराबरको १० लाख कित्ता साधारण शेयरको विक्रि गर्ने भएको छ । बैँकको शेयर निष्काशन तथा विक्रि प्रबद्र्धकको रुपमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

अन्य
लक्ष्मी बैंकले ३ अर्ब ३ करोड ९२ लाख २९ हजार हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ भने सानिमा बैंकले १ अर्ब ५३ करोड, सिटिजन्स बैंकले १ अर्ब ७० करोड, हिमालयन बैँकले ६४ करोड २७ लाख ३५ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २४ करोड ५५ लाख, मेगा बैंकले ९९ करोड ४० लाख, प्रभु बैंकले ६४ करोड १७ लाख ७७ हजार, माछापुच्छ्रे बैंकले ३८ करोड र सनराइज बैंकले ३६ करोड ९० लाख ४७ हजार हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेका छन् । दिव्येश्वरी हाइड्रोपावर लिमिटेडले पनि २६ करोड ४० लाख रुपैँया बराबरको साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनिको शेयर विक्रि प्रबद्र्धकको रुपमा भने एस क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ७ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्दैछ । स्थानीयहरुका लागि कम्पनीले यो सेयर जारी गर्ने भएको हो । कम्पनिको शेयर निष्काशन प्रबद्र्धकको रुपमा सिभिल क्यापिटल मोर्कट रहेको छ ।