December 10th, 2018

सेयर बजारमा दोहोरो अंकको वृद्धि

बैंकिङ खबर । सोमबार सेयर बजार १२.४९ अंकले बढेर ११४४.१९ अंकमा पुगेको छ । उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ९८.९६ अंकले बढेको छ ।

दिनभरिमा १६३ वटा कम्पनीको १२ लाख ६४ हजार तीन सय ४० कित्ता सेयर चार हजार पाँच सय ६६ पटक खरिदविक्री हुँदा ४३ करोड ६७ लाख ५२ हजार आठ सय ५५ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा झन्डै दोब्बर बढी हो । 

सबैभन्दा धेरै कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । बैंकको पाँच करोड ४८ लाखको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक र नेपाल बैंकको तीन करोड तथा एसियन लाइफ इन्स्योरेन्स प्रोमोटर, छिमेक लघुवित्त, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, एनसीसी बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

रैराङ हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ७.७७ प्रतिशतका दरले कमाएका छन् । नयाँ नेपाल लघुवित्त र समिट माइक्रोफाइनान्सका सेयरधनीले छ प्रतिशत तथा नेपाल सेवा लघुवित्त, हाथवे फाइनान्स, जानकी फाइनान्स र प्रिमियर इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । कालिका लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

जम्मा २८ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ६.६१ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी इक्विटी फण्ड, हिमालयन डिस्टीलरी, नागबेली लघुवित्त, जलविद्युत् लगानी तथा विकास कोष, सिनर्जी पावर, सृजना फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स प्रोमोटर, एक्सेल डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।