बैंकिङ खबर । आइतबारदेखि लगानीकर्ताले सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् ।
नेप्सले अनलाइन सेयर कारोबार गर्न लगानीकर्ता र ब्रोकरबीच गरिने सम्झौताको खाका शुक्रबार फाइनल गरेको छ । दुई पक्षबीच सम्झौता भएपछि ब्रोकरले ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गर्ने र त्यसैको प्रयोग गरी इन्टरनेटमार्फत सेयर खरिद विक्री गर्न सकिने प्रावधान रहेको छ ।
नेप्सेले कात्तिक २० गतेदेखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । जसको ठीक एक महिनापछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका छन् । यस्तो कारोबारका लागि नेप्सेले लगानीकर्तालाई कारोबार गर्ने विधि र प्रक्रियाबारे प्रशिक्षण दिएको छ । गत साता मात्र करिब चार सय लगानीकर्ताले उक्त प्रशिक्षण लिएको नेप्सेले जनाएको छ ।