साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ वटा कम्पनिको २६ लाख ७ हजार ४ सय ९७ कित्ता शेयर ५ हजार १ सय ७४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ३८ करोड १५ लाख ८८ हजार ६ सय ६० रुपैँयाको कारोबार भयो । परिसूचक भने सामान्य ०.९७ अंकले बढेर १५२५.०९ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १४९९.३२ अंकमा थियो । जसअनुसार साताभरमा नेप्से परिसूचक २५.७७ अंकले बढेको छ । साताभरमा नेपाल स्टक एक्सचेन्जमा ७ अर्ब १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस साता शेयर बजारको लागि ऐतिहासिक रह्यो । साताको सुरुकै दिनमा बजारले तीन वटा रेकर्ड बनायो । आइतबार आजसम्मकै उच्च विन्दुमा पुगेको नेप्सेमा आजसम्मकै उच्च कारोबार भयो भने बिमा समूहको सूचकले पनि आजसम्मकै उच्च विन्दुको रेकर्ड बनायो । त्यसपछि क्रमशः बढ्दै गएको बजार बुधबार ह्वात्तै घट्यो, जसलाई विश्लेषकहरुले नाटकीय गिरावटको संज्ञा दिए । सो दिनमा बजार खुलेदेखि नै गिरावटको क्रममा रहेको बजार १५२१.९४ अंकमा झरेर सुधारिँदै अन्ततः १५२४.१२ अंकमा पुग्यो ।
बजारमा उतारचढाव आएपनि कारोबार रकम साताभर एक अबमाथि नै रह्यो । आइतबार सवा १ अर्बको कारोबार भएको बजारमा सोमबार १ अर्ब ४४ करोडभन्दा बढीको कारोबार भयो । त्यस्तै, मंगलबार १ अर्ब ६५ करोडको कारोबार भएको बजारमा बुधबार भने थोरै घटेर १ अर्ब ४४ करोडमाथिको कारोबार भयो । बुधबारको तुलनामा विहिबार थोरै घटेर १ अर्ब ३८ करोडको कारोबार भयो ।
यो साता लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण एनबी बैँकको शेयरमा रह्यो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैँक, सानिमा बैँक, एनएमबी बैँक, हिमालयन जेनेरल इनस्योरेन्स, शिखर इन्स्योरेन्स लगायतमा लगानीकर्ताको राम्रो आकर्षण देखियो । साताभर धेरै कमाउने कम्पनिहरुमा कर्णाली डेभलपमेन्ट बैँक, नमस्ते वित्तीय संस्था, काबेली विकास बैँक, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स लगायत छन् । त्यस्तै, गुमाउने कम्पनिहरुमा सिनर्जी फाइनान्स, रिडी हाइड्रोपावर, नेपाल ग्रामीण विकास बैँक लगायत छन् ।