December 3rd, 2018

घलेम्दी हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

बैंकिङ खबर । घलेम्दी हाइड्रोले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्यमा १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार सात सय ७० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति दिएको हो । 

कम्पनीले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पाँच करोड ५० लाख रुपैयाँ बराबरको पाँच लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । सो क्रममा नबिकेको चार लाख ५५ हजार दुई सय २० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । एक हजार तीन सय जनाको ३५ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको सो आयोजनामा लुम्बिनी विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको ५५ करोड रुपैयाँ लगानी रहेको छ ।