December 3rd, 2018

सामान्य अंकले बढ्यो सेयर बजार, ६३ करोड ७९ लाखको कारोबार

बैंकिङ खबर । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा पुगेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह घटेका छन् भने विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा र अन्य समूह बढेका छन् ।

दिनभरिमा १५६ वटा कम्पनीको २१ लाख ३९ हजार तीन सय ४८ कित्ता सेयर चार हजार सात सय ६९ पटक खरिदविक्री हुँदा ६३ करोड ७९ लाख ५४ हजार नौ सय ४८ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको मात्रै झन्डै ३२ करोडको कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको दुई करोड तथा एनएमबि बैंक, प्रभु बैंक, कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

विजय लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.६० र ५.५० प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रो, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईबिएल प्रगति फण्ड, उन्नति माइक्रोफाइनान्स, नेशनल हाइड्रो, राधी विद्युत् कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, रैराङ हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ५.५० प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, मल्टिपर्पोज फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, ग्रामीण विकास लघुवित्त, समिट माइक्रोफाइनान्स, सृजना फाइनान्स, नागरिक लगानी कोष, आरम्भ माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।