December 2nd, 2018

जोशी हाइड्रोको झन्डै १७ लाख कित्ता आईपिओ खुल्यो

बैंकिङ खबर । जोशी हाइड्रोपावरले १६ लाख ९० हजार चार सय ७० कित्ता प्राथमिक सेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्दा नबिकेको दुई लाख ४२ हजार एक कित्ता सेयर समेत समावेश गरी कम्पनीले सर्वसाधारणलाई सेयर जारी गरेको हो । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरमा ५० हजार सात सय १४ कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । त्यस्तै ८४ हजार पाँच सय २३ कित्ता सेयर सामुहिक लगानीकोषको लागि बाँडफाँड गरिसकेको छ । बाँकी रहेको १५ लाख ५५ हजार दुई सय ३३ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आवेदकले न्युनतम ५० कित्ता र अधिकतम आठ लाख कित्तासम्मको लागि छिटोमा मंसिर १९ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १६ गतेसम्म आवेदन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइनेछ ।  

प्राथमिक सेयर निष्कासन पश्चातको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ पुग्नेछ । तीन मेगावाट क्षमताको यस आयोजनाको जम्मा लागत ५५ करोड ३५ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । लामको पुवा खोलामा रहेको जोशी हाइड्रोपावरले २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको हो । आईपीओबाट संकलन भएको रकम बैंकको ऋण तिर्न उपयोग गरिने पनि कम्पनीले जनाएको छ ।