November 29th, 2018

दुई लघुवित्तको झन्डै दुई लाख कित्ता सेयर लिलामीमा

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक लाख तीन हजार कित्ता हकप्रद बोलकबोल लिलामबाट बिक्री खुला गरेको छ । संस्थाले हकप्रद निष्काशनका क्रममा नबिकेको सर्वसाधारण समुह तर्फको १७ हजार दुई सय ६० कित्ता र संस्थापक समुहतर्फ ८६ हजार ९३ कित्ता सेयरको लिलाम विक्री गर्न लागेको छ । न्युनतम एक सय कित्ता र अधिकतम संस्थापकतर्फ ८६ हजार ९३ कित्ता र सर्वसाधारणतर्फ १७ हजार दुई सय ६० कित्तासम्मको लागि बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र निवेदनको लागि एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकका शाखा कार्यालयहरु पोखरा, विराटनगर, नेपालगञ्ज, विरगञ्ज, सुर्खेत, वुटवल र धनगढीबाट पाइनेछ । सेयर लिलामी मंसिर २० गतेसम्म खुला रहनेछ ।

नयाँ नेपालको सेयर लिलामी बन्द हुने दिन अर्को लघुवित्तको सेयर लिलामीमा आउँदैछ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणतर्फको नबिकेको ६२  हजार पाँच कित्ता हकप्रद सेयर मंसिर २० गतेदेखि लिलाम बिक्री खुला गर्दैछ । सर्वसाधारणले न्युनतम एक सय कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि बोलपत्र पेश गर्न पाउनेछन् । एनआईसी एशिया क्यापिटल बबरमहल तथा स्वदेशी लघुवित्तका केन्द्रिय तथा शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । आवेदन दिने म्याद मंसिर २८ गतेसम्म छ ।