बैंकिङ खबर । कात्तिक १५ गतेदेखि १९ गतेसम्म निष्काशन गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आईपिओ मंसिर ११ गते बाँडफाँड हुने भएको छ । सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार सात सय ५० कित्ता सेयरका लागि तीन लाख ४६ हजार बढीले आवेदनबाट छ करोड ७० लाख कित्ता सेयर माग भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सेयर आवेदन गर्ने सबैलाई न्यूनतम दश कित्ता सेयर दिनुपर्ने व्यवस्था रहेको छ । यसअनुसार कम्पनीको सेयर सबै आवेदकलाई न्यूनतम ४० कित्ता बाँडफाँड हुनेछ । अधिकतम प्राप्त गर्नेले गोलाप्रथाबाट थप १० कित्ता गरि कूल ५० कित्ता पाउनेछन् ।
कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गरेको थियो ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ७० अर्ब रुपैयाँ पुग्ने भएको छ ।