बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रवन्ध सञ्चालक कमल ज्ञवालीसहित आठ जनालाई पाटन पुनरावेदन अदालतले कैद र जरिवानाको सजाय सुनाएको छ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवालीलाई चार बर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला अदालतले गरेको हो । पुनरावेदन अदालतका न्यायाधिसद्धय किशोर सिलवाल र चन्डिराज ढकालको संयुक्त इजलासले २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो ।
अदालतले ऋणी किशोर ढकाल र उनको ग्यारेन्टी बस्ने श्रीमती देवकी ढकाललाई पनि ज्ञवालीजतिनै चार वर्ष कैद र १५ करोड जरिवानाको सजाय सुनाएको छ । त्यस्तै भ्यालुएटर कोमानन्द अधिकारीलाई पनि चार कैद र जरिवानाको फैसला सनाईएको छ भने बाँकी चार जना अधिकृत स्तरका कर्मचारीहरुलाई भने पुनरावेदनले दुई बर्ष कैद सजाय सुनाएको छ ।
सफाई
आरोपित बाँकी १७ जनालाई भने अदालतले सफाई दिएको छ । सफाई पाउनेहरुमा देवकी बस्ताकोटी , सुनयन शाक्य , नविन राई , मेरु जोशी , मुकुन्द सुवेदी, मंजयराज पाण्डे , बालकुमार पाण्डे , प्रकाशराज पन्त , श्याम शुन्दर ढकाल , प्रदीप खनाल, सविना उपाध्याय, रेणुप्रसाद पाण्डे, विमल सापकोटा, सुमित अर्याल, बामदेव नेपाल , किशोर ढकाल र प्रकाश बराल रहेका छन् ।
उनीहरुविरुद्ध कमसल धितोको अधिक मूल्यांकन गराई (कर्जा अपचलन) बैंकिङ कसुर गरेको अभियोग लगाइएको थियो ।