साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ३८ करोडमाथिको शेयर कारोबार भइरहेको छ । दिनभरिमा १ सय ३२ वटा कम्पनिको २६ लाख ७ हजार ४ सय ९७ कित्ता शेयर ५ हजार १ सय ७४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ३८ करोड १५ लाख ८८ हजार ६ सय ६० रुपैँयाको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा थोरै घटेको हो । बुधबार १ अर्ब ४४ करोडमाथिको शेयर कारोबार भएको थियो । परिसूचक भने सामान्य ०.९७ अंकले बढेर १५२५.०९ अंकमा कायम भएको छ ।
विहिबार एनबी बैँकको सबैभन्दा धेरै ८ करोड २१ लाख ९६ हजार ८ सय २५ रुपैँयाको कारोबार भएको छ भने सानिमा बैँकको झन्डै ६ करोड रुपैँयाको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५ करोडमाथिको कारोबार हुँदा नविल बैँक, एभरेष्ट बैँक, नेपाल टेलिकम, सिटिजन्स बैँक, नेपाल बैँक, एनएमबी बैँक, सनराइज बैँक लगायतको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
नमस्ते वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । काबेली विकास बैँकका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । भर्गव विकास बैँक, सगरमाथा इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनि, लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनि लगायतले धेरै कमाएका छन् । गुमाउनेमा सिनर्जी फाइनान्स, नेपाल ग्रामीण विकास बैँक, महिला सहयात्रा माइक्रोफाइनान्स लगायत छन् ।
उत्पादनमूलक, विमा र जलविद्युत् समूहले विहिबारको बजार सम्हालेका छन् । होटल, वाणिज्य बैँक र अन्य समूह क्रमशः ३५.८९, ४.६६ र १.१८ अंकले घट्दा उत्पादनमूलक, विमा र जलविद्युत् क्रमशः ६३.३१, ५८.६ र २०.९२ अंकले बढेका छन् । विकास बैँक र फाइनान्स समूह क्रमशः ३.७७ र ३.६२ अंकले बढेका छन् ।