बैंकिङ खबर । शुक्रबारदेखि औद्योगिक नगरी विराटनगरमा पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी सुरु भएको छ । दुई दिनसम्म संचालन हुने प्रदर्शनीको उद्घाटन प्रदेश नं. का मूख्यमन्त्री शेरधन राईले गरे ।
उद्घाटन समारोहमा बोल्दै मूख्यमन्त्री राईले पुँजी बजारको विकास विना प्रदेश नं. १ को आर्थिक विकास हुन नसक्ने बताए । औद्योगिक नगरी विराटनगरबाट प्रादेशिक पुँजी बजार प्रदर्शनीको सुरुवात गरिनु एकदमै सुखद कुरा रहेको र यसबाट यहाँका जनताले धेरैभन्दा धेरै लाभ लिने उनले बताए । धितोपत्र बजारको इतिहास बोकेको विराटनगरबाट प्रदर्शनीको सुरुवात गरेकोमा धितोपत्र बोर्डप्रति आभार व्यक्त गर्दै उनले कार्यक्रमको सफलताको शुभकामना समेत दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रमअनुसार प्रादेशिक पुँजी बजार प्रदर्शनीको आयोजना गरिएको बताए । धितोपत्र बजारको इतिहाससँग जोडिएको र औद्योगिक सहर भएकाले विराटनगरबाट पुँजी बजार प्रदर्शनीको सुरुवात गरिएको उनले जानकारी दिए । नेपालको पुँजी बजार, धितोपत्र बजार, औद्योगिक तथा आर्थिक विकासको लागि यो प्रदर्शनी एकदमै महत्वपूर्ण सावित हुने कुरामा विश्वास व्यक्त गर्दै उनले पुँजी बजारलाई अझ विकसित र व्यवस्थित बनाउँदै जाने उल्लेख गरे ।
उद्घाटन समारोहका अवसरमा प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले आर्थिक, बैंकिङ तथा धितोपत्र बजारसम्बन्धी प्रादेशिक परिसूचकको विमोचन गरे । त्यस्तै, एक नेपाली एक डिम्याट अभियानको सुरुवात प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गरे । यो अभियानको सुरुवातको अवसर पारेर बोर्डले प्रदर्शनीमा सहभागीहरुलाई निःशूल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरेको छ ।
प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज(नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नागरिक लगानी कोषसहित २५ वटा मर्चेन्ट बैंकर्स, ५० वटा सेयर ब्रोकर एवम् बैंक तथा वित्तीय संस्थासहित गरेर कुल ११५ सूचनामूलक स्टलहरु रहेका छन् ।