कम्पनीले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड, जारी पूँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।
तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७।५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुछ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः रु ४० करोड, ३० र ३० करोड लगानी रहेको छ ।