September 26th, 2018

तीन वित्तीय संस्थाको लाभांश प्रस्ताव

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, कैलाश विकास बैंक लिमिटेड र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गरेका छन् । 

कैलाश विकास बैंकको असोज ९ गते सम्पन्न सञ्चालक समितिको ४०६ औं बैठकले चुक्ता पूँजी दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँको १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ नगद लाभांशमा बाँड्नेछ । 

त्यस्तै, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले ७.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज ८ गते बसेको बैंक सञ्चालक समितिको १६५ औं बैठकले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित शेयर प्रिमियमबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर तथा कर प्रयोजन सहित ६.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्ता पूँजी ५२ करोड ६३ लाख रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ५३ करोड ८० लाख पुग्नेछ ।

स्वाबलम्बन लघुवित्तले ३६.८४ प्रतिशत लाभांश वितरण गर्दैछ । लघुवित्तको असोज ९ गते बसेको सञ्चालक समितिको २९२ औं बैठकले २५ प्रतिशत बोनस सेयर तथा ११.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । हाल स्वाबलम्बन लघुवित्तको चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार सात सय रुपैयाँ रहेको छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ३७५ रुपैयाँ पुग्नेछ ।

तीन वटै संस्थाको संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सम्बन्धित संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।