बैँक तथा वित्तीय क्षेत्रमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? नेपाल राष्ट्र बैँकको नीतिअनुरुप ०७४ असार मसान्तभित्रै चुक्ता पुँजी पुर्याउने दौडधूपमा रहेका बैँक तथा वित्तीय संस्थाहरुले साधारण शेयर, हकप्रद शेयर तथा बोनस शेयर निष्काशनलाई एउटा आधार बनाएका छन् । हेर्नुस् कुन बैँकको साधारण र कुन बैँकको हकप्रद शेयर कहिले आउँदैछ :
जनता बैँकको ५० प्रतिशत हकप्रद शेयर
जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया अवरुद्ध भएपछि बैंकले पुँजी बढाउन दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेकोमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । बैंकले यही जेठ ३० गते गर्ने साधारणसभा गर्ने जनाएको छ । सभामा अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव लैजाने बैंकको योजना छ । त्यसैगरी, बैंकको सञ्चालक समितिले १९ प्रतिशत प्रवर्द्धक सेयरलाई साधारण सेयर बनाउन प्रस्ताव गरेको छ । हाल बैंकमा प्रवर्द्धक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशत छ । प्रवर्द्धक सेयर साधारण सेयरमा परिणत भएपनि प्रवर्द्धक सेयर ५१ र साधारण सेयर ४९ प्रतिशत रहने छ ।
सेञ्चुरी कमर्सियलको ३० प्रतिशत हकप्रद शेयर
सेञ्चुरी कमर्सियल बैंकले असार मसान्तभित्र ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले जनाएको छ । बैँकले शेयरको निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।
नेपाल बैँकको हकप्रद शेयर
नेपाल बैंकले हकप्रद शेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । बैँकले सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकसँग अहिले ६ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएकोमा हकप्रदबाट १ अर्ब ५७ करोड रुपैयाँ पुँजी जुटाउने जनाएको छ । साथै, बैँकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थप्नका लागि सञ्चालक समितिमा अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत साधरण सभामा ल्याएको छ ।