व्यवस्थापिका संसदको अर्थसमितिद्वारा गठित उपसमितिले बैंकिङ कसुरमा दोषीलाई विगोको दोब्बर जरिवानासहित १२ वर्षसम्म जेल हाल्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार गरेको छ । गत माघ ११ गते अर्थ समितिले सांसद शेरबहादुर तामाङको संयोजकत्वमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक २०७१ माथि छलफल गर्न उपसमिति गठन गरेको थियो । उपसमितिको जेठ ८ गते बसेको बैठकले बैंकिङ कसुर विधेयकमाथि छलफल गरी तयार पारिएको प्रतिवेदन तयार गरेको हो ।
उपसमितिले अर्थ समितिमा मंगलबार अफ्नो प्रतिवेदन पेश गर्दैछ । अर्थ समितिले छलफल गरेपछि १३ गते बिहीबार संसदको पूर्णसदनमा विधेयक पेस हुनेछ । संसदको पूर्णसदनले आवश्यक छलफल गरी पारित गरेपछि विधेयकले कानूनीरुप लिनेछ र बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ लाई विस्थापित गर्नेछ ।
उपसमितिमा सांसदहरु ओमदेवी मल्ल जोशी, जगदिश्वर नरसिंह केसी, प्रमिला राणा, विदुरप्रसाद सापकोटा, सुबोधकुमार पोखरेल, हरिलाल ज्ञवाली सदस्य रहेका थिए ।