बैंकिङ खबर । सिटी एक्सप्रेस फाइनान्सले भदौ १ गतेदेखि १६७ प्रतिशत अर्थात एक बराबर एक दशमलव ६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । असोज ४ गतेसम्म खुला रहने सेयरमा साउन २० गते सम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ । हकप्रदमा आस्वा प्रणालीमा आवद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन गर्न सकिने व्यवस्था छ । त्यसैगरि बिक्री प्रबन्धक काठमाडौं क्यापिटल, सिटी एक्सप्रेस फाइनान्सबाट समेत हकप्रदमा आवेदन गर्न सकिनेछ ।
हाल १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १६७ प्रतिशत हकप्रद पश्चात ४० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्ता पूँजी पुर्याउनु पर्नेछ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।