May 20th, 2016

साताभर नेप्सेमा ४ अर्बमाथिको कारोबार, परिसूचक १४९९.३२ मा

Economicयस साता नेपाल स्टक एक्सचेन्जमा ४ अर्बमाथिको शेयर कारोबार भएको छ । साताभरमा १ सय ५३ वटा कम्पनीहरुको ६९ लाख ६१ हजार ५ सय ७० कित्ता शेयर २० हजार ५ सय ४५ पटक खरिदविक्रि हुँदा कुल ४ अर्ब २९ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा १८.६९ प्रतिशतले कम हो । गत साता १ सय ४९ वटा कम्पनीहरुको ८४ लाख १४ हजार ४ सय ७० कित्ता शेयर २३ हजार २ सय २८ पटक किनबेच हुँदा ५ अर्ब २८ करोड ६० लाख ९१ हजार रुपैयाँको कारोबार भएको थियो । 

साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा २१.९४ अंकले बढेर अन्तिम दिन १४९९.३२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि पहिलो दिनको तुलनामा ४ दशमलव ९५ अंकले बढेर ३ सय २४ दशमलव ४४ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

यस साता कारोबार रकमको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. अग्रस्थानमा रहेको छ जसको रकम रहेको ३३ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल बंगलादेश बैंकको २० करोड २४ लाख ८० हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सको १८ करोड ५३ लाख १० हजार रुपैयाँ, सानिमा बैंकको १७ करोड ४९ लाख २० हजार रुपैयाँ र नेपाल बैंकको १५ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याका आधारमा नबिल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ जसको ४ लाख ३१ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको सेन्चुरी कमर्सियल बैंकको ९ हजार ८३ पटक कारोबार भएको छ ।