गण्डकी विकास बैंक लिमिटेडका सेयरधनीले १९.३१०६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको १०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४को बार्षिक प्रतिवेदन पास गर्दै उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक संचालक समितिले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफाबाट कुल चुक्तापुँजीको १९.३१०६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बोनस सेयरपश्चात बैंकको कुल चुक्तापुँजी दुई अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यससँगै, चुक्तापुँजीको आधारमा गण्डकी सबैभन्दा ठूलो एवम् अग्रणली विकास बनेको छ ।
नयाँ संचालक निर्वाचित
सभाले आगामीचार वर्षको लागि छ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा संस्थापक सेयरधनीहरुको तर्फबाट पद्य प्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझा रहेका छन् भने सर्वसाधारण सेयरधनीहरुको तर्फबाट नारायण बहादुर बानिया, कृष्ण वहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी रहेका छन् ।
बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैमाससम्ममा निक्षेप रु. २० अर्ब ४३ करोड पुर्याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पुर्याएको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ । साथै, एबिबिएस, एटिएम, एसएमएस, सीआस्वा, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ । यस अतिरिक्त बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । यस पश्चात बैकको कुल शाखा संख्या ७७ पुग्नेछ र बैंकको सेवा सातै प्रदेशमा विस्तार हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।