बैंकिङ खबर । लाभकरको विषयमा सुरु भएको विवाद सुल्झिएपछि दिउँसो १ बजेपछि खुलेको सेयर बजार बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । अर्थमन्त्रालयले तत्कालका लागि पुरानो विधि अनुसार नै कर गणना गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएसँगै खुलेको बजार १२९५.६७को विन्दुसम्म पुगेर फर्किएको छ । झन्डै दुई घण्टामा नेप्से परिसूचक १३.९१ अंकको वृद्धिसँगै १२८२.७५ अंकमा पुगेको छ ।
उपसूचकहरु पनि अन्यबाहेक सबै बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १४४.९९ अंकले बढेको छ भने सबैभन्दा कम फाइनान्स समूह ०.१६ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ११.४२, ३०.०३, १६.२४, २४.५३, २२.०१ र ३४.९८ अंकले बढेका छन् । अन्य समूह ९.०१ अंकले घटेको छ ।
१३८ वटा कम्पनीको चार लाख ९७ हजार पाँच सय ९२ कित्ता सेयर दुई हजार पाँच सय ३४ पटक खरिदविक्री हुँदा २३ करोड ८९ लाख तीन हजार तीन सय ३४ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टेन्ट बैंकको प्रोमोटर सेयरको झन्डै चार करोडको कारोबार भएको छ भने मेगा बैंकको डेढ करोडमाथिको कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, ग्रामीण विकास लघुवित्त, स्वरोजगार लघुवित्त, सिभिल बैंक र साना किसान विकास बैंक पनि धेरै कारोबार हुने १० कम्पनीको सूचिमा छन् ।
नागबेली लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने खानीखोला हाइड्रोका सेयरधनीले ५.०४ प्रतिशतले कमाएका छन् । आरएसडीसी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, महिला सहयात्रा माइक्रोफाइनान्स, बोटलर्स नेपाल, सिभिल लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी लगायतको सेयरमूल्य पनि बढेको छ ।
जम्मा १८ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिटका सेयरधनीले ३.२४४ प्रतिशतका दरले गुमाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो, सृजना फाइनान्स, जेविल्स फाइनान्स, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, नेपाल टेलिकम, सिद्धार्थ इक्विटी फण्ड, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


