बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३।७४को मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । बोनस सेयरका साथमा कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव संचालक समितिले गरेको छ ।
हाल सिभिल बैंकको चुक्तापुँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार तीन सय ६१ रुपैयाँ ८० पैसा रहेको छ । उक्त पुँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख ७९ हजार तीन सय १२ रुपैयाँ आठ पैसा बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । कर प्रयोजनका लागि सेयरधनीले तीन करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ छ पैसा पाउनेछन् ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

