बैंकिङ खबर । मंगलबार सेयर बजार ९.१८ अंकले घटेर १३२७.२१ अंकमा कायम भएको छ । बीमबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः १०.५, ३३.१८, १४.२१, १३.३३, २.९६, २०.६, १.४६ र १५.४८ अंकले घटेका छन् । बीमा समूह ५.६९ अंकले बढेको छ ।
दिनभरिमा १६७ वटा कम्पनीको आठ लाख ४० हजार एक सय ७५ कित्ता सेयर पाँच हजार दुई सय ५६ पटक खरिदविक्री हुँदा ४१ करोड ७४ लाख ३६ हजार नौ सय ६८ रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंकको तीन करोड तथा प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट बैंक, सानिमा माई हाइड्रो, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको एक करोडमाथिको सेयर कारोबार भएको छ । युनाइटेड इन्स्योरेन्सको ९१ लाख र नेको इन्स्योरेन्सको ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
उन्नति माइक्रोफाइनान्सका सेयरधनीले ९.१० प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, एनआईसी एशिया ग्रोथ फण्ड, प्रोग्रेसिभ फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सहयोगी विकास बैंक, दिव्यश्वरी हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, मेगा बैंक, काबेली विकास बैंक, सूर्योदय लघुवित्त, एनएमबि बैंक र किसान माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९६, ७.२७, ५.७३, ५.६३ र ५.२६ प्रतिशतका दरले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, सिभिल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

