रेखा चन्द/बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्दै लैजाने योजना बनाएको छ । बैंकिङ खबर डट कमसँगको कुराकानीमा नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले आफूलाई आवश्यकताअनुसार परिमार्जन गर्दै लैजाने बताए ।
अनलाइन कारोबार प्रणाली
अहिले नेप्सेले आफ्नो पूरै ध्यान अनलाइन कारोबार प्रणालीमा केन्द्रित गरेको छ । उक्त प्रविधि निर्माणको काम लगभग सकिएको र अब परीक्षण सुरुवात गरी छिटै नै पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने तयारी नेप्सेको छ । महाप्रबन्धक साउदका अनुसार, अनलाइन ट्रेडिङ सिस्टमका लागि आवश्यक सफ्टवेर निर्माणको काम ९९ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षदेखि नै यो प्रणाली लागू हुनेछ । अनलाइन कारोबार प्रणाली सुचारु भईसकेपछि इन्टरनेटबाटै सेयरको सबै कारोबार हुने हुँदा ब्रोकर अफिस गइरहुनु पर्दैन । यसले लगानीकर्तालाई लगानीकर्ताको लागि सहज वातावरण सिर्जना गरी सेयर कारोबार बढाउन मद्दत गर्छ । यस प्रणालीको प्रयोगमार्फत लगानीकर्ताले सेयर बजारका विषयमा जानकारी पाउँछन् । सेयर कारोबार बढ्न थालेपछि रियल सेक्टरहरु पनि सेयरको दायरा आउँछन्, जसले गर्द ा सेयर बजारको विकास हुन्छ । त्यस्तै, सेयर बजारको पहुँच विस्तार र पारदर्शीताका हिसाबले पनि यो प्रणाली महत्वपूर्ण रहेको छ ।
परिमार्जित ऐन नियम
प्रविधिका साथसाथै नेप्सेले ऐन नियमको हिसाबले पनि उत्कृष्ट बनाउँदैछ । मार्जिन लेण्डिङसम्बन्धी कार्यविधि पारित गरेर नेप्सेले यसको सुरुवात गरिसकेको छ । अब छिटै नै यो कार्यविधि लागू गरिने महाप्रबन्धक साउदले बताए । यसका अलावा अन्य नीति नियमहरुमा पनि आवश्यकता अनुरुप परिमार्जन गर्दै लैजाने योजना रहेको उनले बताए ।
पुनर्संरचना वा निजीकरण
नेप्सेको निजीकरण गर्ने वा अन्तर्राष्ट्रिय स्तरमा पुनर्संरचना गर्ने विषयमा पनि काम भइरहेको छ । वित्तीय क्षेत्रको उदार रणनीतिमा सरकारले दिएको नीतिलाई नीजिकरण गर्ने वा अन्र्तराष्ट्रिय स्तरको रुपमा पुनर्संरचना एवम् पुर्ननिर्माण गर्ने योजनालाई अनलाइन प्रविधि चालु भएपछि अगाडी बढाउने नेप्सेको योजना छ । आगामी दिनमा नेपाल धितोपत्र बोर्ड र नेपाल सरकारको नीति निर्देशन अन्तर्गत रहेर अगाडी बढ्ने नेप्सेले जनाएको छ ।

