Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

सेयरमा लगानी गर्ने हो ? ‘पुँजी बजार प्रदर्शनी’मा जानुहोस्

२०७५ बैशाख २५ गते

बैंकिङ खबर । बुधबार (वैशाख २६ गते)देखि काठमाडौँको भृकुटीमण्डपमा क्यापिटल मार्केट एक्स्पो २०७५ सुरु हुँदैछ । दुई दिनसम्म चल्ने एक्स्पो आस्वा लगायत सेयर बजारसम्बन्धी नयाँ नयाँ प्रविधिहरुका बारेमा विस्तृतका जानकारी लिनका लागि महत्वपूर्ण हुने बताइएको छ । 

एक्स्पोमा आस्वा सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले नै स्टल संचालन गरी जानकारी दिनेछन् । आस्वा भनेको के हो ? आस्वाबाट सेयर कारोबार कसरी गर्ने ? यसका फाइदाहरु केके छन् ? लगायतका सम्पूर्ण जानकारीहरु सम्बन्धित संस्थाले नै प्रदान गर्ने भएकाले आस्वाबारे स्पष्ट हुन क्यापिटल मार्केट एक्स्पोको अवलोकन गर्नु महत्वपूर्ण हुनेछ ।

सेयर बजारसँग सम्बन्धित मर्चेन्ट बैंकर, ब्रोकर, क्रेडिट रेटिङ कम्पनी लगायतले पनि एक्स्पोमा स्टकल संचालन गर्नेछन् । त्यसैले, सेयर कारोबारसम्बन्धि जुनसुकै जिज्ञासाको जवाफ पुँजी बजार एक्स्पोमा पाइनेछ । सेयर बजारको प्राथमिक बजारमा मात्रै नभएर दोस्रो बजारका बारेमा समेत एक्स्पोमा जानकारी पाइनेछ । मर्चेन्ट बैंकरले के गर्छ ? सेयर ब्रोकरले केकस्ता सेवा दिन्छ ? क्रेडिट रेटिङको महत्व के हो ? लगायतका विषयमा क्यापिटल मार्केट एक्स्पोमा विस्तृत जानकारी दिइनेछ । हरेक विषयमा सम्बन्धित विषयका विज्ञ एवम् सम्बन्धित संस्थाहरुद्धारा जानकारी दिइने भएकाले यो एक्स्पो एकदमै महत्वपूर्ण सावित हुने देखिन्छ ।

नेपाल धितोपत्र बोर्डको आयोजना एवम् मिडिया इन्टरनेशनलको इभेन्ट मेनेजमेन्टमा हुने लागेको कार्यक्रममा स्टलहरुबाट मात्रै नभएर सेयर बजारसँग सम्बन्धित विभिन्न विषयहरुमा अन्तरक्रिया समेत हुनेछ । २६ र २७ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने कार्यक्रममा सहभागीहरुद्धारा राखिएको जिज्ञासाको सम्बोधन सम्बन्धित विषयका विज्ञहरुद्धारा गरिनेछ ।

क्यापिटल मार्केट एक्स्पो सेयर मार्केटसम्बन्धी अत्यन्त आवश्यक र ऐतिहासिक सूचना मेला भएको कार्यक्रमका इभेन्ट मेनेजर माधव निर्दोषले बताए । एक्स्पोको अवलोकन गरी लगानीकर्ता, विद्यार्थी एवम् सर्वसाधारणहरुले भरपूर लाभ उठाउनुहुनेछ भन्ने विश्वास धितोपत्र बोर्डले लिएको छ । एक्स्पोमा सहभागी भइसकेपछि हल्लाको भरमा सेयर बजारमा प्रवेश गर्नेको संख्यामा केही हदसम्म कमी आउने अपेक्षा गरेको धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारीले बताए ।

क्यापिटल मार्केट एक्स्पोले हाल सेयर बजारमा संलग्न भएका र हुन चाहने सम्पूर्णलाई लक्षित गरेको छ । साथमा उद्योगी, व्यवसायी, सूचीकृत कम्पनी, विद्यार्थी एवम् अन्य पुँजी बजारबारे चासो राख्ने सम्पूर्ण वर्गलाई लक्षित गरेर यस प्रदर्शनीको आयोजना गरिएको हो । एक्स्पोमा सेयर ब्रोकर, मर्चेन्ट बैंकर, धितोपत्र बोर्ड, म्युचुल फण्ड, क्रेडिट रेटिङ कम्पनी लगायतका १७० वटा स्टल रहनेछन् । एक्स्पोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा प्रवेश निःशूल्क रहेको छ । एक्स्पोमा सेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी पाइनेछ भने धितोपत्र सम्बन्धी अध्ययन सामग्रीहरु निःशूल्क वितरण गरिनेछ ।