May 15th, 2016

आइतबारको शेयर बजारमा ब्रेक : ७७ करोडको कारोबार

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा साढे ७७ करोड बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३२ वटा कम्पनिको १० लाख ९२ हजार ६ सय ९ कित्ता शेयर ३ हजार ७ सय ७५ पटक किनबेच हुँदा कुल ७७ करोड ५९ लाख ४९ हजार १ सय ५४ रुपैँयाको कारोबार भएको हो । केही दिन यता लगातार एक अर्बको कारोबार भइरहेको बजारमा एक्कासी गिरावट आएको हो । त्यस्तै, नेप्से परिसूचक पनि ४.५६ अंकले घटेर १४७७.३८ अंकमा कायम भएको छ । 

धेरै कारोबार गर्ने कम्पनिको अग्रस्थानमा रहेको प्रभु इन्स्योरेन्सको ४ करोड ९ लाख ७ हजार ९ सय ३२ रुपैँयाको मात्रै कारोबार भएको छ । हिमालयन जेनेरल इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, नेपाल बैँक, एनआईसी एसिया र सानिमा बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने युनाइटेड इन्स्योरेन्स, एनबी बैँक, एनएमबी बैँक, सिटिजन्स बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

कमाउने कम्पनिहरुको अग्रस्थानमा पनि प्रभु इन्स्योरेन्स नै रहेको छ जसका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, बागमती डेभलपमेन्ट बैँक र एनआईडीसी क्यापिटल मार्केट्सका लगानीकर्ताले क्रमशः ९.९२ र ९.८२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । साहारा विकास बैँक, हिमालयन जेनेरल इन्स्योरेन्स,आईएलएफसीओ माइक्रोफाइनान्स लगायतले पनि धेरै कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाउँदा रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले झन्डै ५ प्रतिशतका दरले गुमाएका छन् भने साझा विकास बैँकका लगानीकर्ताले साढे ४ प्रतिशत भन्दा बढीले गुमाएका छन् । त्यस्तै, लुम्बिनी फाइनान्सका लगानीकर्ताले ४.१२ प्रतिशतका दरले गुमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, नयाँ नेपाल लघुवित्त लगायतले पनि गुमाएका छन् । 

अन्य समूहबाहेक आइतबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै विमा समूह ३३.५६ अंकले घटेको छ भने वाणिज्य बैँक, जलविद्युत्, फाइनान्स, होटल र विकास बैँक क्रमशः ७.३७, ७.१६, ५.७४, ५.१२ र ३.६२ अंकले घटेका छन् । अन्य समूह १६.४४ अंकले बढेको छ भने उत्पादनमूलक समूह स्थिर रहेको छ ।