बैंकिङ खबर । ब्रोकर अफिसमा नगई सेयर कारोबार गर्न सकिने प्रविधि छिटै आउने भएको छ । इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीको ८२ प्रतिशत काम सम्पन्न भएको छ । नेप्सेले उक्त प्रणाली निर्माणका लागि सम्झौता गरेको वाईको इन्टरनेसनलको प्राविधिक टोलीका सदस्य विजय गुरलनले प्रस्तावित अनलाइन कारोबार प्रणालीको हालसम्म करिब ८२ प्रतिशत कार्य सम्पन्न भइसकेको र छिटै नै संचालनमा ल्याइने जानकारी दिए । ‘हामीले तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको छ । अब ती मोड्युलहरुलाई एकिकृत गरी छिट्टै यहाँहरु माझ ल्याउने छौं,’ उनले भने ।
नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेकोमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सन्तोष प्रकट गर्दै इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।
अहिले सेयरको प्राथमिक बजारमा डिम्याट खाता, अनलाइन आस्वा लगायतका विभिन्न प्रविधिहरु भित्रिरहेका छन् । यद्यपि, दोस्रो बजारमा भने अझै पनि ब्रोकरकहाँ नै धाउनुपर्ने अवस्था छ । यसै अवस्थालाई मध्येनजर गर्दै र लगानीकर्ताको मागलाई ध्यानमा राख्दै नेप्सेले अनलाइन कारोबारको सुरुवात गर्न लागेको हो ।
अन्य विकसित मुलुकहरुमा हेर्ने हो भने प्राथमिक बजारको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठीक विपरीत भइरहेको छ । त्यसैले, लगानीकर्ता एवम् ब्रोकरहरुले अनलाइन ट्रेडिङको सुरुवात छिटै गरिनुपर्ने माग राख्दै आएका छन् ।

