बैंकिङ खबर । विहीबार सेयर बजार ४.२२ अंकले बढेर १२७७.५५ अंकमा पुगेको छ । बैंकिङ र फाइनान्स समूह क्रमशः १.१२ र ५.०६ अंकले घटेका छन् । होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः १९.५८, ११.४१, ०.६७, ७९.८७, ३८.७४, ४.०२ र १०.७१ अंकले बढेका छन् ।
कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ । दिनभरिमा १६५ वटा कम्पनीको १३ लाख २९ हजार नौ सय ३० कित्ता सेयर पाँच हजार नौ सय ६३ पटक खरिदविक्री हुँदा ४४ करोड ३० लाख ९६ हजार दुई सय ६६ रुपैयाँको कारोबार भएको छ ।
नविल बैंकको प्रोमोटर सेयरको सबैभन्दा धेरै दुई करोड ४६ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, नविल बैंक, चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।
प्रिमियर इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.७४, ५.७९ र ५.६५ प्रतिशतका दरले कमाएका छन् । स्वदेशी लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स, उन्नति माइक्रोफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले ९.९२ प्रतिशतका दरले गुमाएका छन् । काबेली विकास बैंक, नेपाल हाइड्रो, पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेशनल हाइड्रो, श्री इन्भेष्टमेन्ट फाइनान्स, नविल इक्विटी फण्ड, पूर्णिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


