April 12th, 2018

लगानीका लागि तयार रहनुहोस्, छिटै आउँदैछ झन्डै छ लाख कित्ता आईपिओ

बैंकिङ खबर । दुई वटा जलविद्युत् कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् । शुभम पावर लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयर निष्काशनका लागि अनुमति पाएका  हुन् । 

शुभम पावरले पहिलो चरणमा आयोजना प्रभावितका लागि दुई लाख कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले करिब १ मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीमा रिभर फल्स पावर लिमिटेडको ७०.२० प्रतिशत र न्याग्दी ग्रुप पावर नेपालको १२.३० प्रतिशत लगानी रहेको छ । यी दुवै कम्पनीमा प्रवद्र्धक शैलेन्द्र गुरागाईँ र उनीसम्बद्धहरुको लगानी रहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले पनि आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न लागेको हो । 
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

जलविद्युत् कम्पनीहरूले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत् लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितलाई बाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । त्यसपछि दोस्रो बजारमा कारोबार लागि नेप्सेमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था छ । 

हाल नेप्सेमा १५ जलविद्युत् कम्पनी सूचिकृत छन् । चालू आर्थिक वर्ष्भित्रमा नै यो संख्या बढेर ३३ पुग्नेछ । सूचिकृत कम्पनी थपिएपछि यो समूहको कारोबार हिस्सा पनि दोब्बरले बढ्ने अनुमान गरिएको छ । विगत लामो समयदेखि सेयर बजारको ८० प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा समूहले आगट्दै आएका छन् । अब भने जलविद्युत् कम्पनीको संख्या बढेसँगै वित्तीय क्षेत्रका कम्पनीहरूको प्रभुत्व घट्ने अपेक्षा गरिएको छ । त्यमाथि पनि पुँजीवृद्धिका कारण बैंकहरुको संख्या घटेको छ । यसले गर्दा पनि अब सेयर बजारमा बैंक वित्तकै मात्र हालीमुहाली नरहने देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]