Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
समाचार

‘बीमाको पहुँच विस्तारका लागि जनस्तर माथि उकास्नुपर्छ’

२०७४ चैत्र २५ गते

बीमा क्षेत्रमा झन्डै चार दशक बिताएका नुर प्रकाश प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी २०३६ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका थिए । करिअरको सुरुवातको आठ वर्ष उनले नेशनल इन्स्योरेन्समा काम गरे । त्यसपछि २०४४ सालमा नेशनल लाइफ इन्स्योरेन्समा गए, जहाँ उनी १९ वर्षसम्म रहे । त्यतिबेला नेशनल लाइफ इन्स्योरेन्समा जीवन र निर्जिवन दुवै बीमा हुन्थ्यो । पछि, जीवन र निर्जिवन बीमा छुट्याउने कानुनी व्यवस्था भएसँगै उनी एनएलजी इन्स्योरेन्समा गए । त्यसपछि उनी लुम्बिनी जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरे । बीमा क्षेत्रको समग्र अवस्थाको सेरोफेरोमा रहेर बैंकिङ खबर डटकमले लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

जनरल इन्स्योरेन्स भनेको के हो ?
जीवन र निर्जिबन गरी बीमा दुई प्रकारका हुन्छन् । निर्जिवन बीमामा सम्पूर्ण सम्पत्ति र दायित्वको बीमा गरिन्छ भने जीवन बीमामा मानिसको जीवनको बीमा गरिन्छ । जनरल इन्स्योरेन्सअन्तर्गत निम्न बमोजिम बीमा गरिन्छ :

अग्नि बीमा : घर, कारखाना लगायतमा आगलागी हुँदा क्षतिपूर्ति होस् भन्ने हेतुले गरिने बीमा अग्नि बीमा हो । भवन, भवन भित्र राखिएका सामान, मेशिनरीलगायत स्थिर सम्पत्तिका लागि गरिने बीमा अग्नि बीमा हो । यसमा अग्नि, चट्याङ र अहिले भूकम्प पनि अनिवार्य जोखीमको रूपमा समावेश भएको छ । यसमा अन्य जोखिमहरू, जस्तै–बाढीपहिरो, हुरीबतास, आँधीबेहरी, हुलदङ्गा, आतङ्कवादसमेत समावेश गर्न सकिन्छ । यसका लागि बीमितले अतिरिक्त बीमा शुल्कको भुक्तानी गर्नुपर्छ । 

सामुद्रिक बीमा अर्थात कार्गो बीमा : कुनै सामान विदेशबाट ल्याउँदा अथवा विदेश लैजाँदा क्षति नहोस् भनेर गरिने बीमा हो । सुरक्षित व्यापार गर्न तथा अनावश्यक नोक्सानीबाट बच्न निकासी पैठारी दुबै व्यापारमा सामुद्रिक मार्गस्थ बीमा आवश्यक हुन्छ । निकासी पैठारी व्यापारमा सामान गन्तव्यमा नपुगेसम्म बिभिन्न जोखिमहरूबाट हानी नोक्सानी हुन सक्छ । अझ खासगरी नेपाल जस्तो भूपरिवेष्टिथ राष्ट्रमा सामान ल्याउन र पठाउन बढी समय लाग्छ । सामुद्रिक बीमाले निकासी पैठारीको दौरानमा हुने हानी नोक्सानीबाट आर्थिक राहत प्रदान गरी व्यापरमा सुनिश्चितता ल्याउछ ।

मोटर बीमा : मोटर बीमा अन्तर्गत कमर्सियल, पब्लिक तथा व्यक्तिगत सवारी साधनको बीमा, एवं हवाई बीमा समेत पर्दछ । यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षण नै मोटर बीमा हो । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि अपनाइने सुरक्षा मोटर बीमा हो । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तान गर्छ ।

इन्जिनियरिङ बीमा : कुनै निर्माण परियोजनाहरुको बीमा, ठेकेदारहरुको जोखिमका साथसाथै निर्माण दायित्वको बीमा इन्जिनियरिङ बीमा हो । परियोजनाहरुको निर्माण कार्यको बेला हुने विभिन्न प्राकृतिक जोखिमको कारणबाट पुग्न गएको हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गदर्छ । यसबाहेक ठेकेदारको जोखिम, प्रेसर प्लान्ट, मेसिन बिग्रेको, बिजुली उपकरण बिग्रेको साथै तेस्रो पक्षको बीमा पनि यस बीमालेख अन्तर्गत समावेश गर्न सकिन्छ । तथा मेसिन बिग्रेर अथवा बोइलर पड्केर व्यापारमा हुन सक्ने घाटाको पनि यसै बीमामा समेट्न सकिन्छ ।

कृषि बीमा : कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । बाली र पशुक्षिी गरी कृषि बीमा दुई प्रकारका हुन्छन् । रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले बालीमा असर गरेको अवस्थामा कृषि बीमाले कभर गर्छ ।

विविध : अग्नि, सामुद्रिक, इन्जिनियरिङ र कृषि बीमा बाहेक अन्य बीमाहरुलाई विविध अन्तर्गत राखिएको छ । यसअन्तर्गत दुर्घटना बीमा लगायत पर्दछन् । 

बीमा गर्नुपर्ने कारणहरु केके हुन् ?
अहिले संसार नै जोखिमपूर्ण छ । घरमा बस्दा अथवा बाहिर निस्किँदा, सुत्दा अथवा उठ्दा जतिबेला पनि जोखिम छ । नेपालको सन्दर्भमा भन्ने हो भने भुकम्पको खतरा रहेको छ । यस्ता प्राकृतिक प्रकोपका जोखिमहरु अरु पनि छन् । साथमा अन्य जोखिमहरु पनि छन् । जस्तै, भान्सामा ग्यास लिक भएर दुर्घटना हुन्छ, विजनेस गर्दा जोखिम छ, प्लेन चढ्दा जोखिम छ । तसर्थ यो जोखिमलाई न्युनिकरण गर्नका लागि बीमाको अवधारणा ल्याइएको हो । बीमा गर्नु भनेको आफ्नो जोखिम बीमा कम्पनीमा हस्तान्तरण गर्नु हो । शतप्रतिशत नभएपनि ८० देखि ९० प्रतिशतसम्म क्षतिपूर्ति बीमाले गर्छ । 

कुनै पनि व्यापार व्यवसाय डुब्ने स्थितीलाई बीमाले बचाउँछ । जस्तै, कुनै किसानले एक लाख पर्ने गाईको बीमा गराएको छ भने उक्त गाईको क्षतिपूर्तिमा किसानले ९० हजार पाउँछ । उक्त रकमबाट अर्को गाई किनेर किसानले आफ्नो जिविका चलाउन सक्छ । संसारमा जोखिम बढिरहेसँगै बीमाको महत्व पनि बढिरहेको छ । 

बैंकिङ क्षेत्रमा समेत बीमाको ठूलो महत्व रहेको छ । बीमाको सपोर्ट नभएसम्म बैंकिङ कारोबार समेत गर्ने स्थिती छैन । जस्तै, कुनै बैंकले एउटा ठूलो जलविद्युत आयोजनामा लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको आधार के हो त ? किनकि, बाढी, पहिरो, भुकम्प लगायतका कारण उक्त आयोजनामा क्षति हुन सक्छ । त्यसको लागि आर्थिक क्षतिपूर्ति प्राप्त गर्नका लागि र जोखिमलाई कम गर्नका लागि बीमा गर्नुपर्छ ।

बीमाको दाबी भुक्तानी समयमा पाइएन भन्ने गुनासो आउने गरेको छ । वास्तविकता के हो ?
यो गुनासो बुझाइको कमीका कारणले आएको हो । बीमा कारोबार गर्दा डकुमेन्टेसनदेखि लिएर विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । कसैले निवेदन दिनेवित्तीकै फुत्त चेक काटेर दिन मिल्दैन । तर, अहिले हामीले पनि सकेसम्म छिटो भुक्तानी दिने प्रयास गरिरहेका छौँ । कुनै कम्पनीहरुले अन द स्पट भुक्तानीको योजना पनि ल्याएका छन् । यद्यपि, यसको सम्भाव्यता अत्यन्तै न्युन छ । सानोतिनो बीमाको लागि अन द स्पट भुक्तानी सम्भव हुन सक्ला तर ठूलो एमाउन्टको हकमा यो सम्भव छैन । यसका लागि बिमितले क्षतिपूर्तिको सम्पूर्ण र सही कागजात पेश गर्नुपर्छ । जस्तै, मानिसको मृत्यु भयो भने मृत्युको कारणसहितका प्रमाणित कागजातहरु बुझाउनुपर्ने हुन्छ । यसका लागि कम्तीमा पनि एक हप्ता लाग्छ । मृत्युको केसमा हामीले एक हप्ताभित्रमा भुक्तानी दिने गरेका पनि छौँ । कुनै केसमा त्योभन्दा अगाडी पनि दिने गरेका छौँ ।

बीमा दाबीको भुक्तानी गर्न कति समय लाग्छ ?
वास्तवमा भुक्तानी कति समयमा पाउँछ भन्ने कुरा कागजातहरु कहिलेसम्म बुझाउँछ भन्ने कुरामा भर पर्छ । कागजातहरु पाएको २४ घण्टाभित्र नै हामीले सर्भेयर खटाएर गृहकार्य सुरु गर्छौँ । फोटो खिच्नेदेखि लिएर सम्पूर्ण विवरण लिन्छौँ । यसको आधारमा रिपोर्टका बनाउन कानुनले १५ दिनको समय दिएको छ । तर, व्यवहारमा त्यो सम्भव छैन । विवरणहरु संकलन गर्न समय लाग्ने भएकाले रिपोर्ट तयार गर्न केही महिना पनि लाग्न सक्छ । लुम्बिनी जनरल इन्स्योरेन्सको कुरा गर्दा, हामीले १०० दिनको समय राखेका छौँ । सर्भे रिपोर्ट प्राप्त भएको ३०।३५ दिनभित्र अरु केही शंका उपशंका रहेन भने बीमा दाबी भुक्तानी गरिरहेका छौँ ।

बीमा क्षेत्रमा नेपालका आम नागरिकहरुको पहुँचको अवस्था कस्तो छ ?
नेपालमा बीमा पहुँच अत्यन्त न्युन रहेको छ । मुस्किलले १० प्रतिशत जनतामाझ बीमा पहुँच पुगेको छ । घरपरिवारका हिसाबले गणना गर्दा २५।३० प्रतिशत परिवार बीमाको दायरामा आएका छन् । शिक्षा तथा आर्थिक अवस्थाका कारणले बीमाको पहुँच नबढेको होइन । जस्तै, काठमाडौँमा शिक्षित र आर्थिक अवस्था सबल भएका घरपरिवारहरु छन् । ०७२ सालको भुकम्पपछि टुँडिखेलमा पाल हालेर महिनौँ बिताएका परिवारलाई हेर्दा शिक्षितहरुले पनि बीमा नगरेको प्रष्ट भयो । भुकम्पपछि जुन अनुपातमा घरको बीमा दाबी आउँछ भन्ने अपेक्षा गरिएको थियो, त्यो आएन । त्यसपछि घर बीमा गराउनेको संख्यामा दोब्बर तेब्बर वृद्धि  हुन्छ भनेको सोचका थियौँ । तर त्यो पनि हुन सकेन । यसले के देखाउँछ भने, हामी जोखिम हस्तान्तरण गर्नका लागि जानेर बुझेर पनि अटेर गरिरहेका छौँ । ग्रामीण भेगमा चाहिँ नबुझेका कारण अथवा आर्थिक अवस्था सबल नभएका कारण बीमा गरिएन भन्न सकिन्छ । तर, सहर बजारमा, जानेबुझेका र आर्थिक अवस्था राम्रो भएका व्यक्तिहरुले पनि बीमा गराइरहेका छैनन् । यो बिडम्बनाको कुरा हो । 

भुकम्पपछि जनमानसमा बीमासम्बन्धी जागरुकता बढेको हो ?
भुकम्पपछि केही हदसम्म मानिसहरुमा बीमा गर्नुपर्ने रहेछ भन्ने भावना आएको पाइएको छ । तुलनात्मक रुपमा बीमा गराउने संख्या भुकम्पपछि २५ प्रतिशतसम्म बढेको छ । यद्यपि, हामीले अपेक्षा गरेअनुरुप बढेको छैन । हामीले यसमा आफ्नो तर्फबाट पनि विभिन्न प्रयासहरु गरिरहेका छौँ । प्रचारप्रसारमा लागिरहेका छौँ । बीमा समितिले पनि आफ्नो तर्फबाट बीमा पहुँच बढाउने पहल गरिरहेको छ । तर पनि, जुन हिसाबले बीमाको पहुँच बढ्नुपर्ने हो, त्यो अनुपातमा बढ्न सकेको देखिँदैन । ग्रामीण भेगमा आर्थिक अवस्था राम्रो नभएका कारण बीमा गरेका छैनन् । कमाईले घरपरिवारको दैनिक गुजारा मात्रै गर्न सक्ने क्षमता भएका व्यक्तिहरुले भविष्यको सुरक्षाका लागि भनेर बीमा गर्ने, प्रिमियम बुझाउने हैसियत राख्दैनन् ।

बीमा क्षेत्रको इतिहास लामो भए तापनि किन फड्को मार्न सकेन ?
नेपालमा बीमाको इतिहास लगभग ७० वर्ष लामो छ । कतिपय स्थानहरुमा चेतना नभएका कारण बीमाको पहुँच पुग्न सकेको छैन । यसका लागि हामीले पहल पनि गरिरहेका छौँ । बीमा समितिअन्तर्गत बीमा प्रवद्र्धन समिति गठन गरिएको छ । यसको सदस्य भएको हैसियतले कम्तीमा ८ कक्षादेखिको पाठ्यक्रममा नै बीमासम्बन्धी विषय समावेश गर्नुपर्ने मेरो सुझाव छ । बीमा विषयलाई स्नातकोत्तर तहसम्म लैजानुपर्छ । यो राष्ट्रिय आवश्यकता हो ।

आम नागरिकलाई बीमाको दायरामा ल्याउन केकस्ता कदमहरु चाल्नुपर्छ ?
यसका लागि सबैभन्दा पहिले त बीमा भनेको के हो ? यसले के गर्छ ? किन गर्ने बीमा भन्ने विषयमा जानकारी हुनुपर्छ । हुन त विभिन्न मिडियाहरुमार्फत यस विषयमा प्रचार प्रसार भइरहेको छ । फेरि ज्ञान मात्र भएर पनि हुँदैन । बीमा गर्नुपर्छ भनेर बुझ्नेले पनि पैसाको अभावमा बीमा गरिरहेका हुँदैनन् । खान, बस्न, लगाउन लगायतका आवश्यकता पूरा गरेर बीमाका लागि पैसा बचाउने गरी आम्दानी भएका घरपरिवार धेरै कम छन् । यसकारण, सरकारले पनि आर्थिक समृद्धितर्फ ध्यान दिएर जनस्तर उकास्नुपर्छ । त्यसपछि बीमाको पहुँच बढ्दै जान्छ । 

नेपालमा बीमा शिक्षा कार्यक्रम कसरी अगाडी बढिरहेको छ ?
बीमा कम्पनीहरुलाई बीमा समितिले नै जिल्ला तोकिदिएर पठाएको छ । त्यहाँ गएर बीमा कम्पनीहरुले स्थानीय एफएमहरुमार्फत सूचना प्रशारण गरिरहेका छौँ । तर, पनि कृषकहरु जोखिमलाई रक्षाकरण गर्नुपर्छ भन्ने कुरामा त्यति सजग नभएको हामीले पाएका छौँ । प्रचारप्रसारलाई अझै निरन्तरता दिइनेछ । अहिले कृषि बीमा ७५ जिल्लामै पुगिसकेको छ । अन्य बीमाहरु पनि विस्तारै बढ्दै जानेछन् ।

जनरल इन्स्योरेन्सका चुनौतिहरु केके छन् ?
बीमा नेपालमा बनेको सिद्धान्त होइन । त्यसैले, नेपालमा बनेका बीमासम्बन्धी नीतिहरु अन्तर्राष्ट्रिय रुपमा नै मान्य हुनुपर्छ । नेपालमा बीमालाई क्षतिपूर्ति लिनका लागि मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको छ । बीमा आवश्यक छ र यसले आवश्यक परेको बेला आर्थिक सहयोग गर्छ भन्ने सोचाईको कमी छ नेपालमा । यसले गर्दा बीमा कम्पनीहरुमा १०।१५ प्रतिशत झुटा दाबीहरु समेत आउने गरेका छन् । 

त्यस्तै, दैवि प्रकोप नेपालमा बढी हुने गरेको छ । बाढी, पहिरो भुकम्पजस्ता प्राकृतिक प्रकोपले बीमा क्षेत्रमा चुनौति थप्ने गरेको छ । हाम्रो घरघरमै पनि जोखिमहरु छन् । ठूला ठूला बिल्डिङहरुमा खतरा छ । काठमाडौँमा कालो माटो भएका कारण जग बलियो हुँदैन । त्यसैले, धेरै तलाका घरहरु बनाउँदा जोखिम बढी हुन्छ । घर भासिन सक्ने सम्भावना छ । त्यसमाथि, निर्माण क्वालिटी पनि राम्रो छैन । ठूलो बिल्डिङ ढल्दा वरिपरिका घरहरुलाई समेत प्रभावित पार्ने हुन्छ । निर्माणसम्बन्धी अनुशासनको अभावमा यो समस्या आएको हो । 

त्यस्तै, हामी घरघरमा ग्यास प्रयोग गर्छौँ । एउटा सिलिण्डर पड्किँदा पनि ठूलो क्षति हुन सक्छ । यी कुराहरु बीमा पनि हुने गरेको छ तर पर्याप्त भने छैन । सडक बाटोका कारण जोखिम बढिरहेको छ । मापसे चेकिङका कारण केही हदसम्म सडक दुर्घटना घटेको छ । यसमा अझै पनि कडाई हुनु आवश्यक छ ।

हस्पिटलमा बीमा छ भन्नेवित्तीकै फर्जी बिलहरु बनाउने प्रचलन देखिएको छ । कृषि बीमामा पनि समस्या छ । कृषकलाई सपोर्ट गर्ने कुनै पूर्वाधारहरु नेपालमा छैन । कृषि प्रधान देश भनिए तापनि सिँचाई, मलखाद्य लगायतका वस्तुहरुकै समस्या झेलिरहेका छन् किसानहरुले । पशुपक्षीको बीमामा पनि रोग लागेपछि तुरुन्त उपचार हुनुपर्छ । एउटालाई रोग लागेपछि बथान नै सखाप हुने हुन्छ । यस्तो अवस्थामा, कृषिको विकास नभएसम्म कृषि बीमा अगाडी बढ्न सक्दैन । यसमा सरकारले ध्यान दिनु जरुरी छ ।

यी कुराहरुलाई हामीले चुनौतीको रुपमा लिएका छौँ । जोखिम व्यवस्थापन भन्ने कुरा घरघरमा व्यक्तिव्यक्तिले पनि सोच्नुपर्छ । जोखिम व्यवस्थापन आफ्नै लागि हो भनेर जनमानसले नसोचिदिँदा बीमा क्षेत्रमा चुनौति थपिएको देखिन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको बारेमा बताइदिनुहोस् न ।
लुम्बिनी जनरल इन्स्योरेन्स अहिले १४ वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । हामीले बीमाको स्पष्ट नीति हुनुपर्छ भन्ने कुरालाई आत्मसात गरेका छौँ । बीमा दाबी परेको १०० दिनभित्र भुक्तानी गर्ने गरी स्मार्ट क्लेम सर्भिस दिइरहेका छौँ । ०७२ सालको भुकम्पमा आएका दाबीहरु हामीले १८ महिनाभित्र नै चुक्ता गरिसकेका थियौँ । यसरी हामी क्लेम सर्भिस, उत्कृष्ट बीमा सेवा, व्यवसायिक उत्कृष्टतामा अघि बढिरहेका छौँ । 

लुम्बिनी जनरल इन्स्योरेन्सका शाखा कति छन् ?
हाल लुम्बिनी जनरल इन्स्योरेन्सले ३३ वटा शाखा तथा उपशाखामार्फत बीमा सेवा दिइरहेको छ । छिटै नै हामी ६।७ वटा शाखा थप्दैछौँ । त्यसमध्ये, पूर्वाञ्चलमा संखुवासभा, भोजपूर, खोटाङ, उदयपूर र सिराहामा हामीले कृषि बीमा उपलब्ध गराउने जिम्मा नै लिएका छौँ । 

लुम्बिनी जनरल इन्स्योरेन्समा कुन बीमा बढी भएको छ ?
लुम्बिनी जनरल इन्स्योरेन्समा मोटर बीमा बढी भएको छ । अहिले मोटर बीमा अनिवार्य गरिएका कारण पनि बिमितको संख्या बढी भएको हो । बिल बुक रिन्यु गर्न, सडकमा गाडी लान, हवाई जहाज उडाउन बीमा गरिएको हुनुपर्ने लगायतका व्यवस्थाका कारण बाध्यताले पनि मानिसहरुले बीमा गरिरहेका छन् । मोटर मात्रै नभएर अन्य बीमाहरुलाई पनि सँगसँगै लैजाने पहल हामीले गरिरहेका  छौँ । 

अन्त्यमा, बीमा क्षेत्रका एक विज्ञको हिसाबले के भन्न चाहानुहुन्छ ?
बीमा राष्ट्रिय आवश्यकता हो । बैंकिङ विकास हुनका लागि पनि बीमाको आवश्यकता रहेको छ । व्यक्तिगत समृद्धिका लागि पनि बीमा आवश्यक छ । किनभने भोली कतिखेर जोखिम हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन । त्यो जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्नुपर्छ । यसका लागि व्यवसायिक रुपमा जानुपर्छ । बीमा शिक्षा विकासका लागि नेपाल सरकारले जोड दिनुपर्छ । पाठ्यक्रमहरु सुधार गरिनुपर्छ । मिडियामार्फत पनि पहल गरिनुपर्छ । बीमाको पहुँच विस्तार र बीमा शिक्षा अभिवृद्धिका लागि लुम्बिनी जनरल इन्स्योरेन्स सदैव तत्पर छ । जनमानसको आवश्यकताअनुसारका बीमा पोलिसिहरु ल्याउन हामी पछि पर्दैनौँ । हामीले अष्ट्रिचको बीमा सुरु गर्यौँ, हात्तीको बीमा सुरु गर्यौँ । यस किसिमका सेवाहरु आगामी दिनमा पनि दिइरहनेछौँ ।