बैंकिङ खबर । लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ । सबै उपसूचकहरु उकालो लागेपछि नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २७.४५ अंकले बढेर १२२६.४५ अंकमा पुगेको छ । बीमा समूह सबैभन्दा धेरै २०८.३४ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १९.३१, ४५.७७, ३९.०३, ३६.३१, ७.४४, २४.४, १०.८१ र ६३.०६ अंकले बढेका छन् । व्यापार समूह स्थिर रहेको छ ।
कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १६२ वटा कम्पनीको नौ लाख दुई हजार सात सय ५० कित्ता सेयर चार हजार छ सय २३ पटक खरिदविक्री हुँदा ३३ करोड ६४ लाख ४३ हजार चार सय ३१ रुपैयाँको कारोबार भएको छ । मंगलबार २१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
बुधबार नविल बैंक, नेपाल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नागरिक लगानी कोष र स्टान्डर्ड चार्टर्ड बैंकको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ९८ लाख, नेपाल एसबीआई बैंकको ८७ लाख, एनसीसी बैंकको ८३ लाख र एभरेष्ट बैंकको ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अधिकांश लघुवित्त कम्पनीहरुको सेयरमूल्य बढेको छ । कालिका माइक्रोक्रेडिटका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले ९.५९ प्रतिशतका दरले कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स, नागबेली लघुवित्त, ग्लोबल आईएमई लघुवित्त र लक्ष्मी लघुवित्तका सेयरधनीले आठ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । साना किसान विकास बैंक र अरुण भ्याली हाइड्रोका सेयरधनीले सात प्रतिशत तथा सप्तकोसी डेभलपमेन्ट बैंक र गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले छ प्रतिशत भन्दा बढीका दरले कमाएका छन् ।
जम्मा ९ कम्पनीका सेयरधनीले मात्रै गुमाएका छन् । गुहेश्वरी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै १.९१ प्रतिशतका दरले गुमाएका छन् । मिसन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स प्रोमोटर, खानीखोला हाइड्रो, ङादी ग्रुप पावर, एनआईबिएल प्रगति फण्ड, दिव्यश्वरी हाइड्रो, अपि पावर कम्पनी र बरुण हाइड्रोका सेयरधनीले पनि गुमाएका छन् ।


