बैंकिङ खबर । अहिले सेयरमा आवेदन दिँदा सीआस्वा प्रणालीको प्रयोग अनिवार्य गरिएको छ । जसअनुसार, अब साधारण सेयर (आईपिओ), थप साधारण सेयर (एफपिओ) र हकप्रद सेयर खरिद गर्नुपरेमा इन्टरनेटको माध्यमबाट घरमै बसेर आवेदन दिन सकिने भएको छ । यस प्रणालीले सेयर किन्नका लागि घन्टौँ लाइन बस्नुपर्ने, कागजात बोकेर हिँड्नुपर्ने लगायतका झन्झट हटाएको छ ।
सेयर आवेदनको पुरानो शैली
पहिले सेयर खरिद गर्नका लागि सेयर खुलेको कम्पनीले नियुक्त गरेको सेयर निष्काशन तथा विक्री प्रबन्धककोमा गएर लाइन बस्नुपथ्र्यो । लाइन बसेर आवेदन फारम लिएर, फारम भरेर बुझाउनुपर्दा लगानीकर्ताको घन्टौँ समय खेर जान्थ्यो । सेयर खरिद गरेको पैसा बुझाउने, सेयर खरिद गरेको कागजात लिने सबै काम यसरी नै धाएर गर्नुपथ्र्यो । यी सबै कामहरु लगानीकर्ताका लागि मात्रै नभएर सेयर जारी गर्ने कम्पनी तथा विक्री प्रबन्धकका लागि पनि झन्झटपूर्ण थियो । त्यसमाथि सबै काम भौतिक रुपमा हुने भएकाले समय धेरै लाग्थ्यो, जसकारण सेयर बाँडफाँडमा ढिलाई हुने लगायतका समस्या देखा पर्दथ्यो ।
सीआस्वा प्रणाली
सेयर आवेदनको पूरानो शैलीलाई प्रतिस्थापन गर्दै आस्वा प्रणाली लागू गरिएपछि लगानीकर्ताले बैंकमा गएर सेयर भर्न सक्ने भएका थिए । सेयरको कागजात पनि भौतिक रुपमा नभएर डिम्याट खातामा अभौतिक रुपमा आउने व्यवस्थाले लगानीकर्तालाई निकै सहज भयो । अहिले त झन् सीआस्वा अर्थात अनलाइन आस्वा प्रणाली लागू भएको छ । लगानीकर्ताले घरमै बसेर सेयरमा आवेदन दिन सक्ने भएका छन् । यसले लगानीकर्ता र सेयर जारी गर्ने कम्पनीको समयको बचतका साथसाथै झन्झट पनि हटेको छ । साथमा पैसा र कागजात बोकेर हिँड्नुपर्ने अवस्था सीआस्वाका कारण हटेको छ ।
यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रुपमा सिआरएन अर्थात सिआस्बा रजिष्ट्रेसन नम्बर दिन्छ । त्यसपछि तपाईँले आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् । अथवा, सिआस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेभसाइटमार्फत पनि सेयर आवेदन दिन सकिन्छ ।
अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।
आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।


