बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुँजी बजारमा संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको बताएका छन् । शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले पूँजी बजार मार्फत ठूलो परिणामको लगानी परिचालन गर्न सुधारको खाँचो रहेको औँल्याए ।
अर्थतन्त्रका साधन परिचालन गर्न पूँजी बजार सशक्त माध्यम भए पनि यस्तो बजार हाल धितोपत्रमा मात्रै सिमित रहेको श्वेतपत्रमा भनिएको छ । पूँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको उनले बताए ।
सेयर बजारमा पारदर्शिता तथा यथार्थ सूचना सम्प्रेषणको अभाव, लगानीकर्ताहरुमा सेयर लगानी सम्वन्धी ज्ञानको कमी लगायतका कारण समस्या आउने गरेको उनले बताए । श्वेतपत्रमा अर्थमन्त्री डा. खतिवडाले नेपालको पूँजी बजार सतही भएको र यसको दायरा संकुचित भएको उल्लेख गरे ।
श्वेतपत्रमा पूँजी बजार कारोबरको मूल्य दर्शाउने नेप्से सूचाङ्क अस्थिर रहेको उल्लेख छ । पूँजी बजारमा हाल २०८ कम्पनी सूचीकृत रहेपनि ती मध्ये ७५ प्रतिशत वित्तीय क्षेत्र रहेको कुल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । ‘त्यसैगरि जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको तीन प्रतिशत र होटलको दुई प्रतिशत मात्रै रहेको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘यसले पूँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीको उपस्थिती ज्यादै न्यून रहेको तथ्य उजागर गर्छ ।’



