Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

यस्ता छन्, साताभरका टप सात बैंकिङ खबरहरु

२०७४ चैत्र १६ गते

बैंकिङ खबर । यो साता पोखरामा बैंकिङ÷बीमा एक्स्पो सम्पन्न भयो । त्यस्तै, नेपाल राष्ट्र बैंकले असारभित्रै सबै स्थानीय तहमा शाखा पुर्याउन वाणिज्य बैंकहरुलाई निर्देशन दियो । बैंकहरुले पनि प्राथमिकताका साथ शाखा विस्तारलाई अघि बढाइरहेका छन् । समग्रमा यो साताका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

नेपाल राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई असार मसान्तभित्रमा ३५९ स्थानीय तहमा शाखा खोल्न निर्देशन दियो । २४३ स्थानीय तहमा बैशाख मसान्त र बाँकी ११६ स्थानीय तहमा असार मसान्तभित्र शाखा खोलिसक्नुपर्ने राष्ट्र बैंकद्धारा बुधबार जारी निर्देशनमा उल्लेख छ ।  बैंक नपुगेका ३५९ वटा स्थानीय तहमा शाखा पुर्याउने भनिएकोमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धता गरेका थिए । राष्ट्र बैङ्कले बाँकी ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने जनाएका थिए । बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैङ्क तयार नभएपछि राष्ट्र बैङ्कले ठाउँ तोकेरै बैंकहरुलाई शाखा खोल्न निर्देशन दिएको छ ।

बैंकिङ बीमा एक्स्पो सम्पन्न
प्रदेश नं. ४ को राजधानी पोखरामा पहिलोपटक बैंकिङ÷बीमा एक्स्पो सोमबार सम्पन्न भयो । आइतबार वित्तीय जागरणसम्बन्धी र्यालीसहित सुरु भएको बैंकिङरबीमा एक्स्पोको सोमबार डेभलपमेन्ट बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद ढकालले समापन गरे । आइतबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँद्धारा उद्घाटन गरिएको कार्यक्रममा दुई दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले आफ्नो स्टल संचालन गरेका थिए । मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य एवम् बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र माइक्रोफाइनानस बैंकर्स संघसँगको साझेदारीमा सम्पन्न कार्यक्रममा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले तयार पारेको वित्तीय साक्षरतासम्बन्धी नाटक प्रस्तुत गरिएको थियो ,साथै, स्टल संचालन गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

कृषि र साना व्यवसायमा लगानी गर्न ऋण सम्झौता
एनएमबि बैक लिमिटेडले बिश्व बैंकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग ऋण सम्झौता गर्यो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैकका स्थानीय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झौतापत्रमा हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैंकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला ब्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैंकले जनाएको छ ।

सनराइज बैंकको भाइबर बैंकिङ सेवा
सनराइज बैंक लिमिटेडले भाइबर बैंकिङ सेवाको सुरुवात गर्यो । बैंकले बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ प्रविधिहरु भित्रिरहेको क्रममा आफ्ना ग्राहक हरुको सुबिधालाई ध्यानमा राख्दै भाईबर बैंकिङ्ग सेवा सुरु गरेको हो । भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको वारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहक महानुभावहरुको मोबाइल नम्बर यस बैंकको  स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ । 

मुक्तिनाथका चार शाखा विस्तार
ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै साथ आफ्ना तीन वटा शाखा विस्तार गर्यो । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो । सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक मुक्तिनाथ विकास बैंक मात्र रहेको छ । यसै साता मुक्तिनाथले दाङको तुलसीपूरमा पनि शाखा विस्तार गरेको छ ।

बडिगाड गाउँपालिकामा प्रभु बैंकको शाखा
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय विहीबारदेखि सञ्चालनमा ल्यायो । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाबाट एक समारोहका बीच उद्घाटन गरिएको हो ।वडिगाड शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विद्युतीय कारोबारमा वित्तीय संस्थाहरु
यस साता नेपाल क्लियरिङ हाउस लिमिटेडले संचालन गरिरहेको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा चार वित्तीय संस्था थपिए । जानकी फाइनान्स कम्पनी लिमिटेड, ललितपूर फाइनान्स लिमिटेड, सिनर्जी फाइनान्स लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकले यो सेवा लिएका हुन् । त्यस्तै, कम्पनीको विद्युतीय चेक भुक्तानी प्रणालीमा  हाथवे फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्स गरी तीन वित्तीय संस्था थपिएका छन् ।