साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ वटा कम्पनिको १६ लाख ८६ हजार २६ कित्ता शेयर ५ हजार ५३ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १७ करोड ३२ लाख ९३ हजार १ सय ७७ रुपैँयाको कारोबार भयो । त्यस्तै, नेप्से परिसूचकसामान्य ०.५८ अंकले बढेर १४८१.७६ अंकमा कायम भएको छ ।
गत साता १४६३.१३ अंकमा बन्द भएको नेप्से परिसूचक यस साता १४८१.७६ अंकमा छ । जसअनुसार नेप्सेमा १७.६३ अंकको वृद्धि देखिएको छ । त्यस्तै, साताभर ५ अर्ब २९ करोड ५१ लाख ७ हजार ३ सय ४५ रुपैँयाको कारोबार भएको छ । केही समययता नेप्से परिसूचकमा सामान्य घटबढ देखिएपनि कारोबार रकम हरेक दिन अर्ब पुग्ने गरेको छ । साताको आइतबार ९३ करोड ७७ लाख ३३ हजार ४ सय ३ रुपैँया कारोबार भएको बजारमा सोमबार ९९ करोड ९२ लाख २१ हजार ३ सय ५१ रुपैँयाको कारोबार भएको थियो भने मंगलबार १ अर्ब ७ करोड ९९ लाख ७७ हजार ३ सय ९८ रुपैँयाको कारोबार भएको थियो । त्यस्तै, साताको बुधबार १ अर्ब १० करोड ४८ लाख ८२ हजार १६ रुपैँयाको शेयर कारोबार भएको थियो ।
यससाता नेपाल बंगलादेश बैँक र एनआईसी एसियाको शेयरमा धेरै आकर्षण देखियो । नेपाल बैँक, नशनल लाइफ इन्स्योरेन्स लगायतको पनि उल्लेख्य कारोबार भयो । नेपाल राष्ट्र बैँकको पुँजी वृद्धिको नीतिअनुसार तोकिएकै मितीभित्र आफ्नो पुँजी तोकिएको न्युनतम सीमासम्म पुर्याउन हकप्रद, बोनस र साधारण शेयर निष्काशन गर्ने होडबाजी पनि बढिरहँदा यस्ता कम्पनिहरुमा लगानीकर्ताको बाक्लो आकर्षण देखिएको छ ।
बागमती डेभलपमेन्ट बैँक, एनआईडीसी क्यापिटल मार्केट्स, रिलायबल डेभलपमेन्ट बैँक, हामा मर्चेन्ट एण्ड फाइनान्स, काक्रेविहार विकास बैँक, रिलायन्स लोटस फाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा सम्पत्ति बढाएका छन् । गुमाउनेमा सिनर्जी फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक, प्रोफेशनल दियालो विकास बैँक, मिरमिरे माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैँक, साझा विकास बैँक लगायत छन् ।
सामान्यतयाः कम्पनिहरु फाइदामा गएरको खबरले लगानीकर्ताहरु उत्साहित हुने र घाटामा गएर खबरले निरुत्साहित हुने गरेका छन् । हाल विभिन्न कम्पनिहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गरिरहँदा धेरै नाफा कमाएका कम्पनिहरुमा लगानीकर्ताले आकर्षण बढेको र कम नाफा गरेको कम्पनिमा लगानीकर्ताको कम आकर्षण रहेको देखिएको छ । अर्कातर्फ अधिक तरलता, न्यून ब्याजदर, डिम्याट कारोबार, छिटोछरितो राफसाफ हुने व्यवस्था लगायतले पनि बजारलाइ उकास्न सघाउ पुर्याएको हो । दिनदिनै कारोबार बढ्नुले बजारको बढ्दो क्रमले निरन्तरता पाउने सम्भावना देखिन्छ ।