Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

बजारमा सेयर लिलामीको ओइरो 

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । यतिबेला बजारमा सेयर लिलामको बाढी आएको छ । नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि योजनाका कारण अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले हकप्रद तथा बोनस सेयरको माध्यमबाट पूँँजी वृद्धि गरे । जसका कारण बजारमा बैंक तथा वित्तिय संस्थाका करोडौँ कित्ता सेयर बजारमा आएका छन् ।  तर तीनै हकप्रद सेयर नविक्दा लिलामीमा जाने क्रम बढेको छ । अहिले बजारमा विभिन्न बैंक तथा वित्तिय संस्थाका ३ करोड कित्ता भन्दा बढी सेयर लिलामी भएका छन् । अहिले बजारमा लगभग ५ दर्जन जति विभिन्न कम्पनीका सेयर लिलामीका लागि खुल्ला भएका छन् । 

सिभल बैंकका ४२ लाख कित्ता संस्थापक र साधारण सेयर गरी लिलामी गर्यो । त्यसैगरी,गण्डकी  विकास बैंकको पनि साडे ३ लाख ५२ हजार ९ सय १ कित्ता सेयर लिलामीमा गयो । संस्थापक समूहको १ लाख ३० हजार ७ सय १६ र सर्वसाधारणको २ लाख २२ हजार १ सय ८४ कित्ता सेयर लिलामीमा गएको छ ।  सँग्रिला डेभलपमेन्ट बैंकले ९ लाख २ हजार ९ सय ९७ कित्ता सेयर लिलामीमा राखेको छ । यस बैंकको संस्थापक सम्रहको ३ लाख ९२ हजार ७ सय ७२ कित्ता र सर्वसाधारणको ५ लाख ९ हजार २ सय २५ कित्ता सेयर लिलामीमा राखिएको छ । यस बैंकको सेयर मुल्य १ सय रुपैँया रहेको छ । त्यसैगरी,रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार ९४ कित्ता सेयर लिलामीमा गएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि १२ हजार ५ सय ३ कित्ता सेयर लिलामीमा राखेको छ । त्यसैगरी,हाम्रो विकास बैंक,सिभिल बैंक,नेपाल एसविआई बैंक,गोर्खाज फाइनान्स,फस्र्ट माइक्रोफाइनान्सले पनि नविकेको सेयर लिलाम गर्दैछन् । त्यस्तै,सेयर लिलाम गर्ने बैंक तथा वित्तिय संस्थाहरुमा ज्योति विकास बैंक,मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक,नेपाल बैंक, गुडविल फाइनान्स, पूर्णिमा विकास बैंक लगायतका बैंक तथा वित्तिय संस्था रहेका छन् । 

यतिबेला बैंकिङ प्रणलीमा तरलता(लगानी योग्य पूँजी) को अभाव भएका कारण बैंक तथा वित्तिय संस्थाहरुले निष्काशन गरेका हकप्रद सेयर लगानीकर्ताहरुले किन्न सकिरहेका छैनन् । साथै पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आएकाले पनि बैंक तथा वित्तिय संस्थाका हकप्रद विक्री हुन नसक्दा लिलामीमा परेका हुन् । न्यूनतम चुँक्तापूँजी कायम गर्ने दौडमा बैंक तथा वित्तीय संस्थाहरुले रोजेको हकप्रदको बाटोका कारण यतिबेला लगानीकर्तालाई निल्नु न ओकल्नु भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले भने, ‘हकप्रद सेयर खरिदमा केही कमी आएको देखिएको ।’अहिले सेयर बजारमा केही समयदेखि गिरावट आइरहेकाले त्यस्तो समस्या आएकोे प्रवक्ता पराजुलीले बताए । 

बजारमा हकप्रदको बाढी आएका कारण लगानीकर्तालाई आर्थिक रुपमा निकै भार परेको छ । जसका कारण बैंक तथा वित्तिय संस्थाका हकप्रद सेयरहरु किक्री हुन सकिरहेका छैनन् । अनलाइन सेक्युरिटिजका संचालक अनन्त पौडेलले भने,‘ अहिले लगानीकर्तालाई हकप्रद खरिदमा केही असहज अवस्था आएको छ ।’ सेयर बजारमा आएको गिरावटले बजारमा यस्तो अवस्था आएको संचालक पौडेलले जानकारी दिए ।