साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३६ वटा कम्पनिको १६ लाख ८६ हजार २६ कित्ता शेयर ५ हजार ५३ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १७ करोड ३२ लाख ९३ हजार १ सय ७७ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा थोरै बढेको हो । बुधबार १ अर्ब १० करोडमाथिको शेयर कारोबार भएको थियो । केही दिन यता नेप्सेमा लगातार १ अर्बको कारोबार भइरहेको छ । नेप्से परिसूचक भने सामान्य ०.५८ अंकले बढेर १४८१.७६ अंकमा कायम भएको छ ।
विहिबार कारोबारको आधारमा एनआईसी एसिया बैँक अग्रस्थानमा रहेको छ, जसको १३ करोड २५ लाख ४२ हजार ९ सय ४० रुपैँयाको कारोबार भएको छ । नेपाल बैँकको ६ करोड ६६ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने एनबी बैँकको पनि ६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल ग्रानमीण विकास बैँक र नेशनल लाइफ इन्स्योरेन्सको ४ करोडमाथिको शेयर कारोबार हुँदा राष्ट्रिय विमा कम्पनिको प्रोमोटर शेयर, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
वागमती डेभलपमेन्ट बैँकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा एनआईडीसी क्यापिटल मार्केट्सका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एनएलजी इन्स्योरेन्स, रिलायन्स लोटस फाइनान्स, गुडविल फाइनान्स, अपि पावर कम्पनि लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको सिनर्जी फाइनान्सका लगानीकर्ताले साढे ८ प्रतिशतका दरले गुमाएका छन् भने कम्युनिटी डेभलपमेन्ट बैँकका लगानीकर्ताले साढे ७ प्रतिशतका दरले गुमाएका छन् । सहयोगी विकास बैँक, नेपाल ग्रामीण विकास बैँक, राष्ट्रिय विमा कम्पनि प्रोमोटर शेयर, महाकाली विकास बैँक लगायतले पनि गुमाएका छन् ।
वाणिज्य बैँक होटल र विकास बैँकले ओरालेको बजारलाई विमा, जलविद्युत्, अन्य र फाइनान्स समूहले सम्हालेका छन् । विमा समूह ६७.३८ अंकले बढ्दा जलविद्युत्, अन्य र फाइनान्स क्रमशः ११.८९, ८.२२ र ३.९८ अंकले बढेका छन् । होटल समूह सबैभन्दा धेरै २१.६३ अंकले घट्दा विकास बैँक र वाणिज्य बैँक क्रमशः ५.६९ र ३.७८ अंकले घटेका छन् । उत्पादनमूलक समूह भने स्थिर रहेको छ ।
नेप्सेमा प्राविधिक समस्या
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आएको प्राविधिक कारणले विहिबारको शेयर कारोबार २ घण्टा १५ मिनेट पर धेकेलिएको थियो । दिउँसो २ बजेर १५ मिनेटमा सुरु भएको कारोबार साढे ५ बजे बन्द भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेसंगको सर्भरमा जोडिएको इन्टरनेट सेवाप्रदायक कम्पनी वेब सर्फर र नेप्से बीचको कनेक्सन प्वाइन्टमा आएको खराबीका कारण शेयर कारोबार प्रभावित भएको बताइएको छ ।