बैंकमा पैसा नभएको भन्दै उज्बेकिस्तानको एक शहरमा स्कुल शिक्षकलाई तलबको रुपमा नगदको सट्टा कुखुराका चल्ला दिइएको छ । अमेरिकी सहयोगमा चलिरहेको रेडियो ओजोडलिकको प्रतिवेदन अनुसार उज्बेकिस्तानको क्यारेकलपाकस्तान रिपब्लिकको नुकुजका अधिकारीले देशको बैंकमा पैसा नभएको भन्दै शिक्षकलाई तलबको रुपमा कुखुराका चल्ला दिएका हुन् ।
त्यहाँका एक शिक्षकले यस्तो कार्यलाई लाजमर्दो भएको बताएका छन् । ‘गत वर्ष हामीलाई तलबको रुपमा आलु, गाँजर तथा फर्सी दिएका थिए । यो वर्ष तलबको रुपमा कुखुराको चल्ला लिन दबाब दिइरहेका छन् । ती शिक्षकले भने, ‘यदि हामीलाई कुखुरा चाहिएको भए बजारबाट सस्तो मै पाउने थियौं ।’ एउटा कुखुराको चल्लालाई सात हजार सोम (उज्बेकिस्तानको मुद्रा) अर्थात साढे दुई अमेरिकी डलर मानेर तलबको रुपमा दिइएको छ । तर यो कुखुराको चल्लाको बजार मूल्य भन्दा दोब्बर बढी हो ।
उज्बेकिस्तानको सरकारले त्यहाँका सञ्चारमाध्यमलाई कडा नियन्त्रणमा राखेको छ । विदेशी सञ्चार माध्यमसँग बोल्नेले आफ्नो पहिचान लुकाउने गर्छन् । उज्बेकिस्तानमा धेरै वर्षदेखि नगद पैसाको कमीको समस्या छ । यसले गर्दा तलब तथा पेन्सन वितरणमा समस्या हुने गरेको बीबीसीले उल्लेख गरेको छ । एजेन्सी