Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

४५ लाख रुपैयाँ धरौटीमा छुटे चुडामणी शर्मा

२०७४ फाल्गुन २० गते

बैंकिङ खबर । अकूत सम्पत्तिको मुद्दा खेपिरहेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा धरौटीमा छुटेका छन् । चार करोड २९ लाख रुपैयाँको विगोमा शर्मालाई विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी मागेर साधारण तारेखमा रहने गरी छोडेको हो । अदालतको माग अनुसार शर्माले आइतबार इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएका छन् ।

अकूत सम्पत्ती आर्जनसहित कर फर्छ्यौटको विषयमा शर्मालाई अख्तियारले गत जेठ महिनामा पक्राउ गरेको थियो । न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीराज ढकालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अर्को मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ ।

गत माघ १५ गते अख्तियारले शर्मा विरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबरको भष्टाचार मुद्दा दर्ता गराएको थियो । शर्माले गैर कानुनीरुपमा आर्जन गरेको सम्पत्ति पत्नी कल्पना उप्रेती शर्माको नाममा राखेको तथा लुकाएर छिपाएकोसमेत अख्तियारले मुद्दामा उल्लेख गरेको थियो । पटक पटक बयानका लागि बोलाउँदा स्वास्थ्य अवस्थालाई कारण बनाउँदै शर्माले छल्दै आएका थिए । कल्पना भने अहिलेसम्म अदालत गएकी छैनन् ।

शर्माको विशेष अदालतमा रहेको यो दोस्रो मुद्दा हो । यसअघि कर फर्छ्यौट आयोगको सदस्य सचिव रहँदा एक अर्ब राजश्व हिनामिना गरेको अभियोगमा दायर गरिएको भ्रष्टाचार मुद्दामा उनी एक करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

Ad