Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रविधिमा सेयरको दोस्रो बजार पछाडि, ‘अनलाइन ट्रेडिङ’को आवश्यकता

२०७४ फाल्गुन ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् सेयर विज्ञ डा. गोपाल भट्टले नेपालको सेयर बजारलाई जुवाघर नभएर विकासको सम्बाहक बनाउनुपर्ने बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा शुक्रबार आयोजित ‘नेपालको वर्तमान सेयर बजारको अवस्था र सेयर प्रविधि’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै भट्टले सेयर बजारमा रियल सेक्टरले नेतृत्व गर्ने गरी विकास गर्नुपर्ने बताए । ‘अहिले नेपालको पुँजी बजार वित्तीय क्षेत्रले लिड गरिरहेको छ,’ उनले भने, ‘उद्योग, व्यवसाय एवम् सेवा क्षेत्रलाई पनि भित्राउन सके नेपालको सेयर बजार स्थिर बन्नेछ ।’ 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राथमिक बजार प्रविधिको प्रयोगमा निकै अगाडी बढिसकेको भए तापनि दोस्रो बजारमा अझै पनि प्रविधि भित्रिन नसकेको बताए । ‘अन्य मुलुकहरुमा प्राथमिकको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठिक विपरीत भइरहेको छ,’ गिरीले भने, 'आगामी असार/साउनसम्ममा दोस्रो बजारमा पनि प्रविधि भित्र्याउनेछौँ ।’

त्यस्तै, मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले प्राथमिक बजारमा आस्वा लगायतका प्रविधिका कारण सेयर आवेदन दिन र संकलन गर्न सहज भएको बताए । दोस्रो बजारमा भने अझै पनि ब्रोकरकोमा धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले छिटोभन्दा छिटो अनलाइन ट्रेडिङको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । 

ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले सेयर ब्रोकरको दायरा फराकिलो बनाई दोस्रो बजारलाई समेत विकसित बनाउनुपर्ने बताए । अहिले प्राथमिक बजारमा मात्रै प्रविधिहरुको विकास भइरहेको औँल्याउँदै उनले दोस्रो बजारमा पनि प्राविधिहरु प्रयोगमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका संयोजक एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले पछिल्लो समय भित्रिएका नयाँ नयाँ प्रविधिहरुले सेयर बजारको विकासमा मद्दत पुर्याउने बताए । लगानीकर्ताले पनि अब सेयर प्रविधिहरुका बारेमा बुझेर त्यसबाट फाइदा लिनेतर्फ लाग्नुपर्ने उनको भनाई थियो । 

मिडिया इन्टरनेशनलले आइतबारदेखि आयोजना गरेको बैंकिङ ट्रेनिङको समापनको अवसर पारेर उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा तालिममा संलग्न प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि डा. गोपाल भट्टद्धारा प्रमाणपत्र वितरण गरिएको थियो । 

Ad