ग्रीन डेभलपमेन्ट बैंकले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । बाग्लुङमा मुख्य कार्यालय रहेको यो बैंकको सेयर निष्कासनका लागि धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो । बाग्लुङ, म्याग्दी र कास्की गरी तीन जिल्ला कार्यक्षेत्र रहेको यो बैंक सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बैँकले एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ ।
यो डेभपलमेन्ट बैंकले गत चैत्र मसान्तसम्म १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३३ करोड निक्षेप संकलन गरेको बैंकले करिब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस वर्ष साधारण सेयर निष्कासन गर्ने र अर्को वर्ष ४० करोड रुपैयाँको हकप्रद निष्कासन गरेर पुँजी ५० करोड रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको छ ।