बैंकिङ खबर । तीन वटा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् । महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स र जेविल्स फाइनान्सले लाभांश घोषणा गरेका छन् ।
गत आर्थिक बर्षमा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये सर्वाधिक मुनाफा कमाएको महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीहरुलाई नौ प्रतिशत नगद लाभांश दिने भएको छ । यति डेभलपमेन्ट बैंकलाई गाभेर राष्ट्र बैंकले तोकेको भन्दा बढी चुक्ता पूँजी पुर्याएको महालक्ष्मीले बोनस सेयर वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यती डेभलपमेन्ट बैंकलाइ गाभेको महालक्ष्मी विकास बैंक बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड पुगिसकेको छ ।
मन्जुश्री फाइनान्सको पुस २८ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले छ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीले यसअघि जारी गरेको १७५५ हकप्रदपछि कायम चुक्ता पूँजी ७२ करोड ७८ लाख पाँच सय रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बोनसले मात्र संम्भव नभएपछि फाइनान्सले यस अघि नै ५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेर धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोनस र हकप्रदपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार दुई सय रुपैयाँ पुग्नेछ ।
त्यस्तै, जेबिल्स् फाइनान्सले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई असार मसान्तमा कायम पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल फाइनान्सले विक्री गरेको शतप्रतिशत हकप्रद र त्यसपछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रदपछि कायम हुने पूँजी ८० करोड ९० लाख ७७ हजार पाँच सय रूपैयाँलाई हिसाब गर्दा बोनसदर समायोजन भई ३.५७ प्रतिशत हुने फाइनान्सले जनाएको छ ।